इटहरी / बलिउडकी सर्वाधिक डिमाण्डेड अभिनेत्री हुन् प्रियंका चोपडा। यता नेपाली चलचित्रकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् प्रियंका कार्की। यी दुई अभिनेत्रीबीच धेरै कुरामा समानता छ।

दुवैको नाम मिल्छ। दुवै अभिनयमा अब्बल छन्। उचाई उस्तै छ। फिगर पनि लगभग मिल्छ। उमेरमा पनि धेरै वर्षको अन्तर छैन। यति मात्र होइन, दुवै प्रियंका अहिले प्रेममा छन्।

अमेरिकी गायक निक जोनससँग अभिनेत्री चोपडा डेट गरिरहेकी छिन् भने अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेममा करिब २ वर्षपछि अभिनेत्री कार्की रमाइरहेकी छन्।

रोचक कुरा त दुवै अभिनेत्रीले हालै मात्र इन्गेजमेन्ट गरे। निकले प्रियंका चोपडालाई २ करोडको औँठी पहिराए भने आयुष्मानले प्रेमिका प्रियंका कार्कीसँग दुईपटक इन्गेजमेन्ट गरे।

आफूभन्दा कम उमेरका प्रेमीसँग अभिनेत्रीद्वय अब चाँडै विवाह गर्ने तयारीमा छन्। प्रियंका चोपडा इन्गेजमेन्टको कुरामा मौन रहेपनि प्रियंका कार्कीले भने अर्को वर्ष बिहे गर्ने प्लान बनाएको बताएकी छन्।