काठमाण्डौ / शनिबार एक जहाजले काठमाण्डौको आकासमा धुवाँ फाल्दै उड्यो। कतिपयले यसलाई अनौठो मानेर हेरे भने केही सञ्चारमाध्यममा चर्चाको विषय पनि बन्यो। यो जहाजलाई भारतीय लडाकु बिमान वा जासुस बिमान हुन सक्ने अड्कल पनि कतिपयले गरेका छन्। तर, विज्ञहरुका अनुसार आकासमा कलात्मक देखिने गरी धुवाँ फाल्ने जहाजको विषय अर्कै हो।

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनका अनुसार आकासमा यसरी देखिने जहाजको पुच्छरजस्तो आकृतिलाई ‘कन्ट्रेल्स’ भनिन्छ। हरेक जहाज इन्जिनको सहायतामा उड्छ। जहाजको इन्जिन पनि गाडीको इन्जिनजस्तै इन्धनको सहायतामा चल्छ र धुँवा निस्कन्छ।

सामान्यतया तातो हावा रहेको आकासमा उडिरहँदा वा जमीनबाट नजिक उड्दा धुँवा देखिदैन। तर, जति माथि जहाज गयो, त्यति नै वातावरण चिसो हुँदै जान्छ। वरिष्ठ क्याप्टेन ज्वार्चनका अनुसार प्रति १ हजार फिट उचाइमा २ डिग्री तापक्रम घट्छ।

लामो दूरीमा यात्रा गर्ने जहाजहरु ३५ हजार फिटसम्मको उचाइमा उड्छन्। नेपालमा आन्तरिक जहाजहरु १ हजारदेखि १७ हजार फिटसम्मको उचाइमा मात्र उड्ने गर्छन्। काठमाण्डौमा अवतरणका लागि आएका अन्तर्राष्ट्रिय जहाज पनि नेपालमा छिर्दा तल झरिसकेका हुन्छन्।

‘काठमाण्डौमा अवतरण नगर्ने तर नेपालको आकास हुँदै उड्ने अन्तर्राष्ट्रिय उडानका जहाजले चाहिँ धुवाँ फाल्दा कलात्मक आकृति देखिने गर्छ,’ ज्वार्चनले भने। जब आकासको तापक्रम अत्यन्तै कम हुन्छ, जहाजले नियमित उडानकै दौरान फाल्ने धुँवा चिसो मौसमका कारण बाहिर निस्कनासाथ जम्छ र पानी बन्छ। जसले गर्दा जहाजको पुच्छरजस्तो आकृति बन्छ। यही आकृतिलाई धेरैले अनौठो जहाज, जासुस जहाज वा लडाकु जहाजका रुपमा चित्रण गर्छन्।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपालको आकाश अहिले भूटानबाट दिल्लीका लागि उड्ने जहाजले पनि प्रयोग गर्छन्। ती जहाजले काठमाण्डौ टावरलाई आफू नेपालको आकासमा उडिरहेको जानकारी गराउँछन्।

नेपाल नागरिक उडेडयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले नेपाली आकासमा उड्ने सबै जहाजको रेकर्ड काठमाण्डौ टावरलाई थाहा हुने बताउनुभयो। नेपालको अनुमतिबिना कुनै पनि जहाज नेपाली आकाशमा छिर्न नपाउने उहाँको भनाइ छ।

काठमाण्डौको उचाई समुद्र सतहबाट ४ हजार फिट रहेको छ। काठमाण्डौको तापक्रम २० डिग्री छ भने ३५ हजार फिट उचाइमा तापक्रम (४२ डिग्रिसम्म पुगेको हुन्छ। जमीनबाट ८/९ किलोमिटर माथि उचाइमा उड्दा त्यहाँको वातावरणको प्रतिक्रियाले देखिने आकृतिलाई जासुस वा लडाकु विमान भन्दै भ्रम पर्ने गरेको छ।

अमेरिकी स्पेस एजेन्सी (नासा)ले उल्लेख गरेअनुसार पहिलोपटक सन् १९२० मा यस प्रकारको बादल आकासमा देखिएको थियो। सामान्यतया आकास खुला भएको समयमा यस्तो दृष्य देखिने गरेको छ। विश्वभर दैनिक ९० हजार उडान हाइअल्टिच्यूडमा हुने अनुमान गरिन्छ।