काठमाण्डौ / समूह विभाजन र खेल तालिका सार्वजनिक भइसकेपछि भारतले १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा भाग नलिने निर्णय गरेको छ।

भारतले नेपाल आलम्पिक कमिटि मार्फत आइतबार अबेर पुरुष फुटबलमा भाग नलिने जानकारी गराएको हो। यसअघि शुक्रबार मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि पुरुष र महिला दुवै टोलीको खेल तालिका सार्वजनिक गरेको थियो।

यसअघि पुरुषतर्फ पाकिस्तान बाहेक ६ टोलीको समूह विभाजनद र खेल तालिका निकालिएको थियो। भारत नखेल्ने भएपछि अब पाँच टोलीबीच राउन्ड रोविनको आधारमा खेल खेलाईने एन्फाले जनाएको छ। शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। नेपाल पुरुष फुटबलको साविक विजेता टोली हो। गुवाहाटीमा भएको १२औं सागको फाइनलमा नेपालले भारतलाई हराउँदै स्वर्ण जितेको थियो।

यसैगरी १३औं सागको महिला फुटबलमा चार देशले मात्र भाग लिने भएका छन्। महिला फुटबलमा नेपाल सहित, भारत, श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन। महिला फुटबल पोखरामा हुनेछ।