काठमाण्डौ / २० बर्षपछि नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन सत्र भब्य हुने भएको छ। दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नुहुने छ।

तीनघण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालले आफ्नो देशको सबै कला प्रस्तुत गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले बताउनुभयो। ‘सागको उद्घाटन भब्य हुनेछ। उट्घाटन सत्रलाई सफल बनाउन कुनै कसर बाँकी राखिने छैन। संघीय नेपालको सातवटै प्रदेशको कला, संस्कृति र विविधतालाई उद्घाटन सत्रमा देखाईने छ। १५ हजार कलाकारले दशरथ रंगशालामा गित संगित सहितको विशेष प्रस्तुती दिनेछन्,’ सिलवालले भन्नुभयो।

उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष मन्तब्य राख्ने बताईएको छ। उद्घाटन सत्रमा सागमा सहभागी सातै देशका खेलाडी र पदाधिकारीले मार्चपास गर्नेछन्। उद्घाटनमा सात राष्ट्रका सरकारका विशेष प्रतिनिधि र खेल सम्बद्ध पदाधिकारीको समेत उपस्थिति रहनेछ। नेपालको दशरथ रंगशालामा यसअघि सन् १९८४ को पहिलो र सन् १९९९ को आठौं संस्करणको साग भब्य रुपमा उद्घाटन भएको थियो। त्यतिवेला स्वर्गीय राजा विरेन्द्र विरबिक्रम शाहले सागको उद्घाटन गरेका थिए।

रातारात संरचना बन्दै

साग खेलकुदको मुख्य आकर्षणको केन्द्र दशरथ रंगशाला अहिले दुलही झै सिंगारिने काम भएको छ। अघिल्ला दिन धुरोमैलो देखिने सडक र भित्ता रातारात पिच सहित रंगरोगन गरी चिटिक्क पारिएको छ। साधारण प्यारापिटमा बत्ती राखेर झिलिमिली पारिएको छ।  कतिपय संरचना धमाधम निर्माण भईरहेका छन्।  साधारण प्यारापिटमा छानो सहित निर्माण सकेर कुर्सी विछ्याईएको छ। दशरथ रंगशालाको मैदान, सिन्थेटिक ट्रर्याक, स्कोर बोर्ड, चेन्जिङ रुम, शौचालय लगायत संरचना निर्माण सम्पन्न भइसकेको छ।

अहिले मुख्य चासोको रूपमा भीआईपी प्यारापिट रहेको छ। भिआईपी प्यारापिटमा छानो हाल्ने र कुर्सी बिछ्याउने काम धमाधम भइरहेको छ। दुई तीन दिनमा भिआईपी प्यारापिटमा छानो जडानसहित सबै काम पूरा भईसक्ने राखेपले जनाएको छ। भिआईपी प्यारापिटमा छानो लगाउने काम चिनिया प्राविधिकले गरेका छन्। सागका खेलहरु सुरु हुनु अघिनै सबै संरचनाको निर्माण कार्यले पूर्णता पाउने पनि राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले बताउनुभयो।

यसैगरी सागका लागि अर्को विशेष महत्वको रुपमा रहेको सातदोवाटो स्थित हिटिङ सिस्टमको पौडी पोखरीको निर्माण कार्य पूरा हुनेमा भने शंक उब्जिएको छ। पौडी निर्माणको काम धमाधम भइरहेको छ। पोखरीमा भर्खर टायल विछ्याउने काम भईरहेको छ। १३औं राष्ट्रिय खेलकुद प्राविधिक समितिका संयोजक गंगाबहादुर थापाले सागअघिनै निर्माण कम्पनीले पौडी पोखरी सम्पन्न गरिसक्ने बताउनुभयो। काठमाण्डौ, पोखरा र जनकपुरका हुने साग गेममा २६ खेल समावेश गरिएको छ। उद्घाटन अघिनै भलिबल खेल मंसिर ११ गतेदेखि काठमाण्डौमा सुरु हुनेछ।

कुन खेल कहाँ र कहिले? 

आर्चरी – पोखरा, मंसिर १९ देखि २३ गतेसम्म

एथलेटिक्स – दशरथ रंगशाला, १७ देखि २१

बास्केटबल – राखेप कभर्डहल, १९ देखि २४

ब्याडमिन्टन –पोखरा, मंसिर १५ देखि २०

बक्सिङ – सातदोवाटो, २० देखि २४

पुरुष क्रिकेट – कीर्तपुर, १७ देखि २४

महिला क्रिकेट – पोखरा, १६ देखि २३

साइक्लिङ –गोकर्ण, १७ देखि २१

फेन्सिङ – कीर्तिपुर, २० देखि २३

पुरुष फुटबल – दशरथ रंगशाला, १६ देखि २४

महिला फुटबल – पोखरा, १७ देखि २४

गल्फ – गोकर्ण, १६ देखि २०

ह्यान्डबल– पोखरा, १८ देखि २३

जुडो – लगनखेल, २१ देखि २४

कबड्डी –हल्चोक, १८ देखि २३

कराँते – सातदोवाटो, १५ देखि १८

खोखो –कीर्तिपुर, १५ देखि १८

सुटिङ – सातदोवाटो, १७ देखि २२

स्क्वास – सातदोवाटो, २० देखि २४

पौडी – सातदोवाटो, १९ देखि २३

तेक्वान्दो – सातदोवाटो, १६ देखि १९

टेबलटेनिस – लैनचौर, १६ देखि २०

टेनिस – सातदोवाटो, १६ देखि २३      

ट्रायथलन – पोखरा, १६ देखि १८

भलिबल – राखेप कभर्डहल, ११ देखि १७

बीच भलिबल – पोखरा, १९ देखि २२

भारोत्तलन – पोखरा, १९ देखि २२

उसु – लगनखेल, १६ देखि १९

कुस्ती – जनकपुर, २० देखि २३