मोरङ / मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाली टिमले जितेको छ। १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधि जितेको हो।

त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ। यता २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ। बिजेता नेपाली खेलाडीको तर्फबाट खोटाङले सर्वोत्कृष्ट १२ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ। धरानले ६ स्वर्ण, १३ रजत र ११ कास्य पदक पाएको छ भने ईटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ।

प्रतियोगिताको बिजेता नेपाली टोली मध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। नेपाली टिम मध्ये निकटतम पदक बिजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। यता, कुल १५ पदक जित्न सफल ईटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ।

बिजेता टिम तथा खेलाडीहरुलाई नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समिति अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभएको छ। नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते संघले मोरङ जिल्लामै पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको दुई दिने प्रतियोगिता सञ्चालन गरेको हो।

प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १७० कास्य पदकका लागि ६ देशका ५२ टिमवीच प्रतिस्पर्धा भएको थियो। नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका ६ सय ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।