संखुवासभा / शनिबारदेखि संखुवासभाको पुरानो सदरमुकाम चैनपुरमा १ नम्बर प्रदेश स्तरीय लाखे नाच प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले पानसमा बत्ती कालेर उद्घाटन गर्नुभयो।

यसअघि कला संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवर्द्धन भन्ने मूल नाराका साथ र्‍याली पनि निकालिएको थियो। चैनपुरको जिरोप्वाइन्टबाट निकालिएको र्‍याली बजारको विभिन्न भागको परिक्रमा गर्दै बालमन्दिरसम्म पुगेर कार्यक्रमस्थल टुँडिखेल फर्किएको थियो।

lakhe_nach लाखेनाच प्रतियोगिता कार्यक्रममा १ नम्बर प्रदेश भित्रका ७ जिल्लाका १३ टिमको सहभागिता रहेको चैनपुर समाजसेवा युवा क्लबका अध्यक्ष एवं कार्यक्रम मूल समारोह समितिका संयोजक रन्जन श्रेष्ठले बताउनुभयो।

संखुवासभा जिल्ला भित्रका वाना, सिभुवा, खाँदवारी, तुम्लिङटार, खराँङ्ग र चैनपुर गरी ६ टिम तथा अन्य जिल्लाहरु मोरङ, उदयपुर, भोजपुर, सुनसरी, तेह्रथुम र धनकुटा जिल्लाको सहभागिता रहेको छ। पर्यटन वर्ष २०२० लाई लक्षित गरी नेवार समुदायमा नाचिने लाखेनाच प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैया नगद,प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नेछन्।