काठमाण्डौ / युवती बलात्कार गरेको अभियोगमा पक्राउ परेका अनेरास्ववियूका नेता पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाण्डौ जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सदस्य रहेका इन्द्रहाङ राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको मंसिर ५ गतेको इजलाशले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले राईविरुद्ध बलात्कार गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। तिहारको बेला एकजना चिनजानकै युवतीलाई भैली खेल्न बोलाएर बलात्कार गरेको अभियोगमा प्रहरीले राईलाई पक्राउ गरेको थियो।