एजेन्सी / माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन्।

गेट्सको कूल सम्पत्ति ११० अर्ब डलर रहेको छ भने त्यहीँ बेजोसको कूल सम्पत्ति १०९ अर्ब डलर रहेको छ।

विश्वका शीर्ष ५ धनी

१. बिल गेट्स, माइक्रोसफ्ट (अमेरिका)– ११० अर्ब डलर

२. जेफ बेजोस, अमेजन (अमेरिका) – १०९ अर्ब डलर

३. बर्नाड अरनाल्ट, एलवीएमएच (फ्रान्स) – १०३ अर्ब डलर

४. वारेन बफे, वर्कशायर हैथवे (अमेरिका) – ८६।६ अर्ब डलर

५. मार्क जकरवर्ग, फेसबुक (अमेरिका) – ७४।५ अर्ब डलर

स्रोत : नेटवर्थ ब्लूमबर्ग बिलेनियर इन्डेक्स

माइक्रोसफ्टको शेयरमा पछिल्लो दिन आएको बढावले गेट्सलाई फाइदा पुगेको छ। अमेरिकी रक्षा विभागले २५ अक्टोबरमा माइक्रोसफ्टलाई १० अर्ब डलरको क्लाउड कम्युटिङको करार दिने घोषणा गरेको थियो। त्यसपछि माइक्रोसफ्टको शेयरमा ४ प्रतिशतले वृद्धि भएको थियो। यस दौरान अमेजनमा शेयरमा २ प्रतिशतले गिरावट आएको थियो। माइक्रोसफ्टको सेयरमा यो वर्ष ४८ प्रतिशतले वृद्धि भइसकेको छ।

जेफ बेजोसले आफ्नो पूर्व पत्नी म्याकेन्जीसँग सम्बन्धविच्छेदको घोषणा जनवरीमा गरेका थिए। अप्रिलमा भएको सेटलमेन्ट अनुसार बेजोसले आफ्नो शेयरको २५ प्रतिशत म्याकेन्जीलाई दिए। म्याकेन्जीको शेयरको अहिले मूल्य ३५ अर्ब डलर रहेको छ। यो सेयर बेजोससँग भएको भए उनको कूल सम्पत्ति १४४ अर्ब डलरको हुन्थ्यो। र, अहिले पनि विश्वको धनी व्यक्ति हुन्थे।

यता, गेट्सले पनि सन् १९९४ देखि परोपकारको काममा दान दिँदै आएका छन्। बिल एन्ड मिरान्डा गेट्स फाउन्डेसनबाट उनले परोपकारको काममा सहयोग गर्दै आएका छन्। उनले हालसम्म दान दिएको रकम जोड्ने हो भने गेट्सको सम्पत्ति १४५ अर्ब डलर हुने बताइएको छ।