काठमाण्डौ / बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै मायाँ र सम्मान प्राप्त गरेको बताएका छन्।

वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका भारतीय अभिनेता गोविन्दाले काठमाण्डौमा पत्रकारसँगको कुराकानीका क्रममा भने, “मलाई नेपाली दर्शकबाट मायाँ र सम्मान मिल्दै आएको छ, यो मायाँ नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु।”

सोमबार पत्नी सुनितासँगै नेपाल आएका उनले बिहान पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गरे। सुनिता भने नेपाली हुन्। उनले सधैँ पूजाआजाका लागि नेपालमा आउने गरेको र यसपटक चलचित्र निर्माता सङ्घको निमन्त्रणामा आएको जानकारी दिँदै दुई देशका कलाकारबीच आपसी सहकार्य आवश्यक रहेकामा जोड दिए।

गत वर्ष पनि उनी एक चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन नेपाल आएका थिए। उनीसँगै भारतमा रहेकी नेपाली अभिनेत्री निरुता सिंहसमेत आएकी छन्।