काठमाण्डौ / नेपालको सिनियर महिला राष्ट्रिय भलिबल टोलीले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

समूह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले माल्दिभ्सलाई ३–० को सहज सेटमा पराजित गरी इतिहासकै पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो। समूह चरणमा पनि माल्दिभ्स ३–० कै सेटमा हारेको थियो।

सहिद सूरवार्दी इन्डोर रंगशालामा नेपालले माल्दिभ्सविरुद्ध २५–१३, २५–१२ र २५–८ ले जितेर उपाधि उचालेको हो। १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण छ।

कप्तानको रुपमा अरुणा शाहीको पहिलो प्रतियोगितामा पहिलो उपाधि भएको छ। अधिकांश युवा र कम अनुभवी खेलाडीको बाहुल्यकाबीच नेपाली खेलाडीले आत्मविश्वाश बंगलादेशमा प्रशंसनीय देखिएको थियो।

नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई पराजित गरेको हो। सबै खेलमा नेपालले सोझो सेटको विजय हासिल गरेको हो।

नेपाली महिला टोलीले सन् १९९९ मा नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुदमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको हो। त्यस प्रतियोगितामा काश्य जितेको नेपालले दक्षिण एसियाली खेलकुदमा ३ काश्य जितिसकेको छ।