काठमाण्डौ / आँखामा विभिन्न खाले समस्याहरु देखा पर्छन्। आँखा पाक्ने रोग जुनसुकै समयमा र जोकोहीलाई पनि हुन सक्छ । तर पनि अहिलेको सिजनमा आँखा पाक्ने रोगको समस्या अलि धेरैलाई हुन सक्छ।

योबेला धुलो बढी हुने कारण आँखामा संक्रमण भएर आँखा पाक्ने समस्या देखिन सक्छ। सडकमा उड्ने धुलोमा भाइरस र ब्याक्टेरिया धेरै हुने कारण आँखा रातो हुने तथा चिलाउने समस्या निम्तिन्छ।

अहिले आँखाको इन्फेक्सन (कन्जन्टिभाईटिस) बढी देखिएको छ। भाइरल इन्फेक्सनका कारण यस्तो समस्या देखिन्छ। आँखाबाट आँसु झर्ने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने जस्तो समस्या हुन सक्छ।

बिरामीलाई आँखामा इन्फेक्सन हुनाका साथै अलिअलि ज्वरो आएको जस्तो हुने, शरीर गल्ने हुन्छ। कहिलेकाहीँ भाइरल इन्फेक्सन माात्रै नभएर अरु किटाणुहरु जस्तै ब्याक्टेरियाको पनि संक्रमण भयो भने आँखा पाक्ने समस्याले धेरै नै दुःख दिन्छ। त्यसैले आँखामा समस्या हुनेबित्तिकै अस्पताल जानु पर्छ।

भाइरल इन्फेक्सन भएपछि अरुलाई पनि सर्न सक्छ। त्यसैले संक्रमण हुनेबित्तिकै डाक्टरलाई देखाउनुपर्छ। समयमा नै उपचार गरेन भने आँखाको ज्योति गुम्ने सम्भावना हुन्छ। त्यसैले कुनै पनि संक्रमणलाई साधारण रुपमा लिनु हुँदैन।

रोकथामको उपाय

– घरभित्र, स्कुल, क्याम्पस तथा कार्यालयमा कसैलाई आँखा पाक्ने समस्या वा संक्रमण छ भने उबाट टाढै बस्नुपर्छ। 

– संक्रमित व्यक्तिले पनि कालो चस्मा लगाउनुपर्छ। आफूले प्रयोग गरेको रुमाल या अरु वस्तु अरुलाई दिन हुँदैन।

– संक्रमित व्यक्तिले आँखामा औषधि हाल्नेबित्तिकै या आँखा छुने बित्तिकै साबुनपानीले हात धुनुपर्छ।

संक्रमण हुनबाट कसरी जोगिने ?

– आँखाको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। अहिले प्रदुषण बढेकाले संक्रमणको सम्भावना धेरै छ। त्यसैले बेलाबेला आँखा सफा गर्नुपर्छ। समय, समयमा धुनुपर्छ। मोटरसाइकल तथा स्कुटरमा हिँड्नेले अझ बढी ख्याल गर्नुपर्छ। 

– घर बाहिर निस्किँदा चस्मा लगाउँदा राम्रो हुन्छ।

– घाममा हिँड्दा सनगगल्स र कम्प्युटरमा बस्दा पावर नभएको चस्मा लगाउँदा पनि प्रभावकारी हुन्छ।