काठमाण्डौ / डेढ वर्षअघि काठमाण्डौको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त शैलेश कार्कीलाई ५ वर्ष दुई महिना कैद सजाय सुनाइएको छ।

जिल्ला अदालत, काठमाण्डौका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला गरेको छ। कार्कीले आफू पीडित भनिएकी युवतीका प्रेमी हुँ भनेका थिए।

तर, उनकै सहयोगमा काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमले पनि सामूहिक बलात्कार गरेको अभियोग थियो। अदालतले श्रेष्ठ र गौतमलाई १४ महिना कैद सजाय सुनाएको छ। उनीहरुलाई मुलकी ऐनअनुसार सजाय सुनाइएको अदालतका एक अधिकारीले बताए। किनकी, घटना भएका वेला मुलुकी अपराध संहिता लागू भइसकेको थियो।

प्रकरणलाई सामसुम बनाउन महानगरीय प्रहरी वृत्त, दरबारमार्गका तत्कालीन डीएसपी तिलक भारतीय र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेलेको सार्वजनिक भएपछि यो प्रकरण चर्चामा आएको थियो।

उनीहरूमाथि छानविन गर्न तत्कालीन एसपी रामदत्त जोशीको नेतृत्वमा समिति बनेको थियो। काठमाण्डौ प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जनाविरुद्ध २०७५ जेठ ४ मा मुद्दा दर्ता गराएको थियो।