बन संरक्षण गर्नु यत्तिबेला फलामको चिरुवा चपाउनु सरह हुँदै आएको छ। अझ सरकारले वन संरक्षणको जिम्मा उपभोक्तालाई नै सुम्पिएपछि झन् चुनौतिका चाङ थपिएका छन्। यिनै चुनौतिका बावजुत सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ लालपुरमा रहेको रामधुनी बन उपभोक्ता समुहका अध्यक्ष रामसेवक साहसँग वन संरक्षण एवं चुनौतिका बिषयमा पूर्वी खबरकर्मी सहदेव कार्कीले गरेको कुराकानीको सम्पादित अंश :

वन संरक्षणका बिषयमा तपाँईहरु के गर्दै हुनुहुन्छ ?
–वन संरक्षणका लागि हामी अहोरात्र खटिईरहेका छौँ। यतीबेला वन संरक्षणका लागि हामीकहाँ समस्याका चाङ लागेका छन्। समस्याका वावजुत हामी वन संरक्षणका लागि काम गरिरहेका छौँ।

समस्याका चाङ त भन्नुभयो कस्ता समस्या छन् ?
–त्यसो त वन संरक्षण गर्नु भनेको आँफैमा कठिन हो। बिभिन्न सोच भएका मानिसहरुलाई समेटेर एउटै कानुनको दायरामा ल्याउन कठिन कार्य हो। दश थरी मानिसलाई समेटेर काम गर्नु चुनौती हुँदैन र ?

हाल नयाँ कार्यक्रम के ल्याउनु भएको छ समितिमा ?
– हामी पुराना रुखहरु हटाएर खाली बनाएको ठाउँमा नयाँ बिरुवा लगाउन तयारी गर्दैछौँ।

तपाई बन उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ स्थानीयको समस्या के के छन् ?
-यो ग्रामिण क्षेत्र रामधुनी न.पा. ४ को उत्तर–पूर्वमा रहेको भूगोल किसानको कृषि क्षेत्र भएकोले जग्गा धनिहरुले आफ्नो ज्यादा खर्च लाग्छ भनेर जोगिँदै यहाँका विपन्न परिवारलाई काम लाउँदै हकअधिकार विहिन बनाउदै आएका मालिकहरु ठुला, सम्पन्न शहर, काठमाण्डौँ र विदेश बस्ने हुँदा श्रमिक किसानहरु मार्कामा परेकाछन् । साच्चै भन्नु पर्दा स्थानीय सरकार र सिंहदरबार गाउँ घरमा आएपनि हलो जोत्ने चलन हराउदै गएकोमा कृषि बाली लगाउन किसानले सहजै ट्याक्टर पाउन सकेको छैन भने प्रदेश सरकार र जनप्रतिनिधीले ध्यान दिइनुपर्छ वा सहज बिकल्प दिनुपर्छ यसो हुन सकेको छैन।

कृषि क्षेत्र सुधार्ने र बिकासउन्मुख गराइने सरकारको निती थियो कृषकलाई थाहा थिएन ?
-म पनि कृषिकर्म गर्ने मानिस हुँ, सरकारले कृषि क्षेत्रमा सहज हुने ट्रयाक्टर भित्राएको होहल्ला सुनेको हो तर यस क्षेत्रमा आईपुगेन बीचैमा बिलाएको छ। कृषि क्षेत्र किसानकै लागी बार्षिक बजेट छुट्याएको घोषणा सुन्छौँ त्यो पनि कता मोडिन्छ एक पैसा कृषकले पाएका छैनन्। यहाँ सबै बिपन्न वर्गले दैनिक खटेर धानेको छ भने ट्रयाक्टर लाउन मनपरि दरभाउ छ। अचेलत जनको ज्याला पनि बढेको हुँदा सबैले समयानुकुल खेतीलाउन नसकेर कृषक अप्ठ्यारोमा परेका छन्।

सरकारले दिने ट्याक्टर यस क्षेत्रमा पाउनु भएको छैन र ?
-सरकारले दिने भनेको सेवा–सुविधाको ट्याक्टर यहाँ आएको छैन, कसैले पाएको छैन। यहाँ प्रयाप्त पानी भएको खेतियोग्य जमीन छ तर ट्याक्टरको जोताई महंगाईले गर्दा कृषकले पूर्ण ध्यान दिएर खेती उत्पादन गर्न सकेको छैन। ४/५ बाली उत्पादन गर्न सक्ने ठाउँ भएपनि निम्न वर्गीय किसान आर्थिक क्षमता कमजोर भएको हुनाले महंगीसँग जुधेर सहज परिवार धान्न र अघि बढ्न नसकेको हो।

सरकारले के कुरा पुरा गरिदिए हुन्छ भन्ने लाग्छ ?
-अरुकुरा भन्दा पनि कृषकको लागी समय सापेक्षीत सजिलै मल बिउ उपलब्ध हुनु पर्छ साथै सामान्य ब्यक्तिको पहुँचले धान्ने ज्याला दरको ट्याक्टर उपलब्ध भएमा अथाह खेती उत्पादन भइ जनहितकारी प्रगती हुनेछ। चुनावको बेलामा भनेको गाउँ गाउँमा सिंहदरबार भन्ने कुरा पुरा भईदिए कोही दुखी र दरिद्र हुदैन। नेपालको कृषि क्षेत्रमा प्रशस्त अनाज उत्पादन र भण्डारण भई मानव समुदाय र सिंगो देशले काँचुली फेर्न सक्नेछ।