काठमाण्डौ / स्पेनका स्वास्थ्य अधिकारीहरुले एक जना पुरुषलाई शारिरीक सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण भएको पुष्टि गरेका छन्। लामुखुट्टेको टोकाइबाट मात्रै सर्ने भनिएको डेंगी विश्वमै पहिलो पटक यौन सम्पर्कका माध्यमबाट सरेको पाइएको हो।

स्पेनको राजधानी मड्रिडका एकजना ४१ वर्षीय पुरुषमा यौन सम्पर्कको माध्यमबाट डेंगीको सक्रमण भएको द टेलिग्राफको अनलाइन संस्करणले जनाएको छ। क्युबा भ्रमणमा गएका बेला पुरुष साथीसँगको शारिरीक सम्पर्कपछि उनमा डेंगीको संक्रमण भएको मड्रिडमा रहेको पब्लिक हेल्थ डिपार्टमेन्टकी अधिकारी सुसाना जिमिनेजले जानकारी दिएकी छिन्।

उनमा डेंगीको संक्रमण भएको सेम्टेम्बरमा पुष्टि भएको थियो। उच्च ज्वरो आउने, शरीर दुख्ने लगायतका लक्षण देखिने रोगको संक्रमण नभएको क्युबामा गएका उनलाई डेंगीको संक्रमण भएको देखेर डाक्टरहरु पनि समस्यामा परेको जिमिनेजले बताएकी छिन्। उनी भन्छिन्, ‘उनको साथीमा पनि त्यस्तै लक्षण देखिएको थियो। तर दश दिन पहिले केही कम भएको थियो। उनी पहिले क्यूबा अनि डोमिनिकन गणराज्यको भ्रमणमा गएका थिए।’

उनको शुक्राणुको विश्लेषपछि उनमा डेंगी भएको पत्ता लागेको थियो। त्यति मात्रै होइन, त्यसमा क्यूबामा फैलने भाइरस पनि फेला परेको थियो। जिमिनेजका अनुसार एकजना पुरुष र एकजनामहिलाबीच यौन सम्पर्कका माध्यमबाट डेंगीको संक्रमण हुने कुरा दक्षिण कोरियामा हालसालै प्रकाशित वैज्ञानिक लेखको विषय थियो।