काठमाण्डौ / बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन्। उनी यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउन लागेका हुन्। उनलाई विशेष अतिथीको रुपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जनाएका छन्।

गोविन्दा गत वर्ष राजधानीमा भएको ‘एलजी चलचित्र अवार्ड’मा पनि नेपाल आएका थिए। यसअघि पनि उनी थुप्रै पटक नेपाल आइसकेका छन्। उनकी श्रीमती सुनीता आहुजा नेपाली मुलकी हुन्। त्यसैले उनी नेपाललाई आफ्नो ससुराली देश बताउने गर्दछन्।

नेपाल चलचित्र निर्माता संघको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ कात्तिक २१ गतेबाट तीन दिनसम्म चल्नेछ। सो कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यतालिका छ।