धरान / भाइटीकाको दिन कात्तिक १२ गते धरानमा १३ वर्षीया बालिका ३५ वर्षीय युवकबाट बलात्कृत भइन्। बलात्कार गर्ने युवक गिरेन्द्र राईलाई धरान–१६ बाट प्रहरीले भोलिपल्ट (१३ गते) पक्राउ गर्यो।

भाइटीकाको दिन बिहान १०:३० बजेको समयमा एक दलित बालिकालाई धनकुटा छिन्ताङ–४ घर भएका राईले आफू बस्ने कोठामा लगी बलात्कार गरेका हुन्।

धरान–१६ डेरा गरी बस्दै आएका राईले १३ वर्षीया बालिका आर (परिवर्तित नाम) लाई आफ्नो डेरा कोठामा बोलाई बलात्कार गरेको खुल्न आएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो।

डीएसपी न्यौपानेका अनुसार पीडित बालिकाको आफन्तले प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिसकेका छन्। राईले आफू सुत्ने कोठामा लगेर बालिकालाई बलात्कार गरेको प्रहरीलाई बयान दिइसकेका छन्।

राई र पीडित बालिकाको परिवार एउटै फ्ल्याटमा भाडामा बस्दै आएका थिए। राईको श्रीमती, एक छोरी र एकजना छोरा छन्। पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।