एजेन्सी / बलिउड नायक अक्षय कुमार वर्कफ्रन्टमा सुपर एक्टिभ अभिनेताको रुपमा चिनिन्छन्। एकै वर्षमा थुप्रै चलचित्रमा अभिनय गर्ने केही सिमित अभिनेतामा उनी पनि पर्छन्।

चलचित्र हाउसफूल ४ मा अक्षय कुमारले ह्यारी र बालाको भूमिका निभाएका छन्। चलचित्रले समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छैन तर पनि यसले बक्स अफिसमा राम्र्रै कमाई गरिरहेको छ। यसलाई अक्षयको जादु भन्ने कि निर्माताको रणनीति, चलचित्र आफ्नो लागत उठाउन सफल भइरहेको देख्न सकिन्छ।

के भन्छ आँकडा ?

हाउसफुल ४ ले पहिलो दिन १९ करोड ८ लाख भारुको व्यापार गर्यो र आइतबार १८ करोड ८१ लाख भारु कमायो। सुरुवाती चार दिनको व्यापारको कुरा गर्ने हो भने यसले ८७ करोड ७८ लाख भारुको व्यापार गरेको थियो।

तीस मार खान :

यद्यपि, हाउसफूल ४ अक्षय कुमारको यो पहिलो चलचित्र होइन जसले खराब रिभ्यु पाउँदा पनि राम्रो व्यापार गर्ने। यसअघि पनि अक्षय कुमारको यस्ता केही चलचित्र छन्। सन् २०१० मा रिलिज भएको अक्षय कुमारको चलचित्र ‘तीस मार खान’ बन्न २८ करोड भारु लागेको थियो तर यसले बक्स अफिसमा करिब ६० करोडको व्यापार गरेको थियो।

सिंग इज ब्लिंग :

यसबाहेक प्रभु देवा निर्देशित चलचित्र सिंग इज ब्लिंगको कुरा गर्ने हो भने यो चलचित्र सन् २०१५ मा रिलिज भएको थियो। यो चलचित्र पनि समीक्षकको राम्रो रिभ्यु पाउन असफल रहेको थियो। यो चलचित्रको माउथ पब्लिसिटि पनि राम्रो थिएन। तर यति हुँदा हुँदै पनि ४१ करोड भारुमा बनेको यो चलचित्रले करिब ११६ करोड भारुको व्यापार गरेको थियो।

राउडी राठौर :

अक्षय कुमारको यो चलचित्र साउथ इन्डियन चलचित्रको हिन्दी रिमेक थियो। ४५ करोड भारुको बजेटमा बनेको यो चलचित्र सन् २०१२ मा रिलिज भएको थियो। चलचित्रले त्यतिबेला बक्स अफिसमा करिब १३३ करोड भारुको व्यापार गरेको थियो। यो चलचित्रले पनि समीक्षकको खासै राम्रो प्रतिक्रिया पाएको थिएन।