काठमाण्डौ / फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभर चलचित्र ‘पोई पर्‍यो काले’ प्रदर्शनमा आएको छ। शुक्रबारबाटै प्रदर्शनमा आउने भनिएको चलचित्र ‘घामड शेरे’ले अन्तिम समयमा रिलिज मिति परिवर्तन गर्दा ‘पोई पर्‍यो काले’लाई एकल प्रदर्शनको अवसर मिलेको हो।

यद्यपि, ‘पोई पर्‍यो काले’ ले प्रदर्शनको एकछत्र अवसर पाएको भने होइन। केही साताअघि आएको चलचित्र ‘छ माया छपक्कै’ र शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘हाउसफुल ४’ र ‘मेड इन चाइना’ले समेत केही स्टेशन कब्जा गरेका छन्।

चलचित्र ‘घामड शेरे’ सर्दा ‘पोई पर्‍यो काले’लाई एकल प्रदर्शनको अवसर त मिलेको थियो तर, बलिउडका दुई चलचित्र त्यो अवसरका लागि बाधक बनेर आए। ‘पोई पर्‍यो काले’ शिशिर राणाले निर्देशन गरेका हुन्। यस चलचित्रमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ।

मानिसको बाहिरी रुप हेरेर त्यो राम्रो–नराम्रो भनिने गलत सोच हाम्रो समाजमा छ। त्यही सोचलाई मुख्य बिषयबस्तु बनाइएको चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। तिहारको अवसर पारेर प्रदर्शनमा आएको यो चलचित्रको किरण नेपाली प्रस्तुतकर्ता, दिपक मनाङ्गे र सरोज नेपाली निर्माता रहेका छन भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन्।