काठमाण्डौ / नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टिमको कप्तानी छोडेको एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएको हो।

१० वर्ष नेपाली टिमको कप्तानी गरेका पारस पहिलो पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन्। टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लो नेपाली खेलाडी पारसले करियरमा अर्को फड्को मारेका छन्।

यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन्। योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन्। नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन्।

पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो। टी-१० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले पछि मात्रै जानकारी दिएको हो। पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको हो।

अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक भएको छ। पारसको टिममा मोइन अलि र भारतीय पूर्व अलराउण्डर युवराज सिंह आइकोनिक खेलाडीको रुपमा रहेका छन्।