काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा-सिस्ने खोला सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ। 

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी साधन आवतजावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सुरुङमार्गको चन्द्रागिरि नगरपालिका १ को टोटेपाखामा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो। उहाँले शिलापत्रको अनावरण पनि गर्नुभयो। 

सुरुङ मार्गका लागि २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ० दशमलव ०१ प्रतिशत ब्याजदरमा १६ अर्ब सहुलियत ऋण दिनेछ भने ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट जुटाउने छ।

प्रवेश मार्गसहित ५ दशमलव ५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताउनुभयो। 

झण्डै ६ अर्ब रुपैयाँ स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ। चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भैरहेको छ। अहिलेसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ। चार वर्षभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलो पटक निर्माण गर्न लागिएको सुरुङ मार्गमा दुइटा साना ‘फ्लाइ ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताउनुभयो। सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाइ ओभर’ बनाउन लागिएको हो। सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइ ओभर’ पनि नेपालकै पहिलो हो। 

सुरुङ मार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेशनसँग सम्झौता भएको थियो। सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ। यही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ।