काठमाण्डौ / हाँस्य टेलिसिरियल ‘भद्रगोल र ‘सक्किगो नि’ बीच विवाद सिर्जंना भए पछि जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ।

आइतबार मिडिया हबका प्रमुख सोम धितालले ‘सक्किगो नि’ मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको भूमिका टेलिसिरियल ‘भद्रगोल’ को पात्र भएको भन्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन्।

आर्थिक कारोबार नमिलेपछि ‘भद्रगोल’ त्यागेका निर्देशक कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे ९पाँडे० सहितको ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले कपिराइटको उजुरी दर्ता गराएको हो।

धितालले उजुरीमा कुनै क्षतिपूर्तिको माग नगरे पनि पुरानो क्यारेक्टर ‘सक्किगोनी’ मा प्रयोग गर्न नमिल्ने बताएका छन्। तर कुमार कट्टेल ‘जिग्री’ ले पात्र र कलाकारको कपिराइट उत्पादक कम्पनीसँग नहुने बताएका छन्।

मिडिया हबले आफूहरु प्रति शोषण गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हात मा हत्कडी नै लगाएर थुनिदिनुस्।’

उजुरीपछि छलफलका लागि दुबै पक्षलाई शुक्रबार बोलाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो।