भोजपुर / षडानन्द नगरपालिकामा कल्पना राईको विभत्स हत्या भएको छ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पनाको विभत्स हत्या भएको हो। हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ।

उनीहरुमाथि शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ। हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो। गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ। बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिनुभयो।