सुनसरी मोरङ्ग सिंचाई आयोजनामा लामो समयदेखि कार्यरत ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन। उनिप्रति आयोजना र राज्यले मानवीयता देखाउन नसक्दा जीवन रक्षाका लागि आन्दोलित भएका हुन।

सिचाई आयोजना शुरु भएदेखि आयोजनामा कार्यरत ज्यालादारी कर्मचारीहरुप्रति आयोजना र राज्यले स्थायी नगरिदिएको तथा ज्यालादारी कर्मचारीले ब्यहोर्दै आएका समस्या समाधानका लागि ८ महिनाअघि गरिएको सम्झौता कार्यान्वयन गरिएका कारण बाध्य भएर आन्दोलनमा उत्रनु परेको ज्यालादारी कर्मचारीहरुले बताएका छन।

सिंचाई आयोजनाको सम्पूर्ण रेखदेख गर्दै आएका ज्यालादारी कर्मचारीहरुले आफ्नो उर्जाशील जीवन आयोजनाको काममा बिताउनु परेको तर जागिरको ग्यारेण्टी भने आयोजना र सरकारले नगरेकाले बाध्य भएर आन्दोलनमा होमिनुपरेको ज्यालादारी कर्मचारी समन्वय समितिका सचिव रविनकुमार कार्कीले बताउनुभयो। sin

तीन दिनअघिदेखि आयोजनाको बराहक्षेत्रको चतरास्थित पुरानो इन्टेकमा तालाबन्दी गर्दै पानी नदीतिर नै फर्काएर आन्दोलनमा उत्रिएका ज्यालादारी कर्मचारीले आठ महिनाअघि बासुदेव लोहनीसँग गरेको समझदारी कार्यान्वयन नगरेसम्म आन्दोलन नरोक्ने गरी सम्पूर्ण ज्यालादारी कर्मचारीहरु संघर्षमा उत्रिएको ज्यालादारी कर्मचारी समन्वय समितिका अध्यक्ष दुर्गा राईले बताउनुभयो।

आयोजनामा लामो समयदेखि कार्यरत कर्मचारीहरुले प्रचलित कर्मचारी सम्वन्धि ऐन अर्थात श्रम ऐन अन्तर्गत स्थायी गरिनुपर्ने तथा यसअघि भएको सम्झौता अनुसार ज्यालादारी कर्मचारीलाई आयोजनाले जागिरको ग्यारेण्टी नगरेसम्म आन्दोलन नरोकिने महिला कर्मचारी रेणुका राईले आक्रोस पोख्नुभयो।

उहाँले हामीले कहिलेसम्म सिचाई आयोजनाको काममा घोटिने हो ? त्यसको ग्यारेण्टी नभएसम्म आयोजनाको सम्पूर्ण काम ठप्प पार्दै नहरबाट पानी प्रवाहमा अवरोध गरिरहने जिकिर गर्नुभयो। जनताले कहिले न्याय पाउने उहाँको प्रश्न थियो।

सुनसरी र मोरङ्ग जिल्लाको ६८हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउने जोखिमपूर्ण कार्यमा सक्रिय रहँदै आएका २ सय ९८जना कर्मचारीले जोखिम मोलेर रातदिन जोतिनुपर्ने अवस्था रहेको तर आँफुहरुले यसरी काम गरे बापत श्रम ऐनले तोके अनुसार स्थायी समेत नगरिने गरेर अन्याय कहिलेसम्म सहने भन्दै सामुहिक गुनासो गरेका छन।

सिचाई नरहेको पुरानो इन्टेकबाट नदीतिरै पानी फर्काएर आन्दोलनमा उत्रिएका कर्मचारीहरुले अवको चार दिनभित्र पनि यसअघि भएको समझदारी कार्यान्वयन नगरिए न्यू इन्टेकबाटक नै पानी नदीतिर फर्काएर कठोर आन्दोलनमा ओर्लने तयारीमा रहेको आन्दोलनरत कर्मचारी माधव थापाले जानकारी दिनुभयो।

यसअघि समझदारी भए अनुसार चारवटा माग आयोजनाले पुरा नगरेसम्म नहरमा पानी नछोड्ने गरी आन्दोलनमा उत्रिएका सम्पूर्ण कर्मचारीहरुको माग पुरा नभए सिंचाईको सम्पूर्ण कामकाज ठप्प हुन जाँदा सुनसरी र मोरङ्गमा सिंचाई समस्या जटिल बन्न सक्ने खतरा बढेको छ। पानी नदि तिर फर्किँदा आयोजनाले पानी मुहानमा डाईभर्सन गर्दा खर्च गरेको लाखौँ रुपैँया सप्तकोशी नदिमै बग्ने भएको छ।