काठमाण्डौ / सौर्यमण्डलको दोश्रो ठूलो ग्रहको रुपमा रहेको शनी ग्रहको बाहिरी घेराहरु यति विशाल छन् कि पृथ्वीबाट टेलिस्कोपले हेर्दा समेत प्रष्टै देखिन्छन्। तर पृथ्वीबाट शनी ग्रहका उपग्रहहरु भने सजिलोसँग देखिँदैनन्।

शनि ग्रहका केही उपग्रहहरुमा जिवनको सम्भावना रहेको बताइन्छ। ती सम्भावित चन्द्रमाहरु समेत पृथ्वीबाट सहज रुपमा देख्न गाह्रो पर्दछ। हालै वैज्ञानिकहरुले यस्तै सानो आकारका शनी ग्रहका थप २० उपग्रहहरु फेला पारेका छन्। त्यो सँगै शनी ग्रह सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बनेको छ।

अमेरिकाको वाशिङटन डिसीमा रहेको कार्निग इन्स्टिच्यूट अफ साइन्सका खगोल वैज्ञानिकहरुले गत अक्टोबर ७ मा शनी ग्रहका २० वटा नयाँ चन्द्रमा पत्ता लगाएको घोषणा गरेका हुन्। अन्तराष्ट्रिय खगोल विज्ञान केन्द्रस्थित साना ग्रह केन्द्रमा शोधकर्ता खगोलविद टोलीका प्रमुख स्कट एस शेफर्डले यस्तो घोषणा गरे।

विश्वका सबैभन्दा ठूला टेलिस्कोपहरुको सहायताले ग्रहहरुको वरीपरी रहेका सबै उपग्रहहरु पत्ता लगाउने कार्यलाई आफुहरुले पूर्णता दिन लागेको उनले बताए। यस्तो खोजले सौर्य मण्डलका ग्रहहरु कसरी उत्पत्ति र विकास भए भन्ने कुरा बुझ्न सहयोग पुग्ने उनको भनाइ थियो।

नयाँ पत्ता लागेका २० चन्द्रमासँगै शनी ग्रहका चन्द्रमाहरुको कूल संख्या ८२ पुगेको छ। यो सँगै शनी ग्रह सबैभन्दा धेरै चन्द्रमा भएको ग्रहको रुपमा वृहस्पतीलाइ पछि पार्दै पहिलो स्थानमा उक्लिएको छ। वृहस्पती ग्रहका ७९ चन्द्रमा छन्।

शनी ग्रहका नयाँ पत्ता लागेका उपग्रह मध्ये १७ वटाले उल्टो दिशाबाट शनी ग्रहको परिक्रमा गर्ने ग्रेका छन् भने बाँकी ३ वटाले चाहीँ शनी ग्रह घुम्ने दिशाबाटै परिक्रमा गर्दछन्। यी उपग्रहहरु शनी ग्रहबाट यति टाढा छन् की शनीको परिक्रमा गर्न २/३ वर्ष लाग्दछ।