काठमाण्डौ / कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रमा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिका छ। चलचित्रमा अभिनेता निश्चल वैदेशिक रोजगारीबाट गाउँ फर्किएको एक युवकको भूमिकामा छन्। उनी विदेशमा कमाएको पैसाले किनेको खेतमा तरकारी खेती गर्ने योजना बनाएर गाउँ फर्किन्छन्।

तर, विदेशमा कमाएको पैसाले किनेको जग्गा खोलाले बगाएपछि घामड पात्रले गर्ने संघर्ष ट्रेलरमा देखाइएको छ। चलचित्रमा उनको सालीको भूमिका अभिनेत्री स्वस्तिमाले निभाएकी छन्। कमर्शियल शैलीमा तयार पारिएको ट्रेलरले चलचित्रप्रति दर्शकलाई उत्सुकता जागृत गर्न सफल हुने देखिन्छ। चलचित्रमा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन्। कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा चलचित्र खिचिएको हो।  

‘घामड शेरे’ कमेडी विषयवस्तुमा निर्माण भएको बताइएको छ। गौरी मल्लको अतिथी भूमिका रहेको चलचित्रमा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ। नरेन्द्र विक्रम बुद्ध क्षेत्री कार्यकारी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन्। सुरेन्द्र पौडेलको सम्पादन र कालीप्रसाद बाँस्कोटाको चलचित्रमा संगीत छ। निर्देशक विसीले नै चलचित्रको कथा तथा पटकथा लेखेका हुन्।

‘घामड शेरे’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको निर्माता समेत रहेका निर्देशक विसीले बताए। यसपटक आफूले मौलिक कथा पस्कने प्रयास गरेको उनको भनाई छ। अभिनेत्री स्वस्तिमाले पहिलो पटक निर्देशक विसी र श्रीमान् निश्चलसँग काम गर्न पाउँदा रमाइलो अनुभव भएको बताइन्। अभिनेता निश्चल भने चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछन्। चलचित्रका निर्माता सिमोस सुनुवार हुन।

हेर्नुस् ट्रेलर :