काठमाण्डौ / केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए। अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ। यही सन्दर्भमा बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका छन्।

अमिताभले भने, ‘मलाई तपाईँको बारेमा उत्तराखण्डको नैनीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेको मित्र उज्ज्वल थापाले बताउनुभयो। तपाईँप्रति जे भयो, त्यो निकै दर्दनाक छ। यो कुरा सुनेर म निकै दुःखी भएँ।’ अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गरे। ‘जे घटना तपाईँमाथि घट्यो, त्यो अरु कसैसँग नघटोस्।

amitabh-bachcha तपाईँ नाम जस्तै सधैँ हाँसिरहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उनले भने। साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन्। उनले मुस्कानको स्वास्थ्य लाभको कामना पनि गरे।

यसअघि बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले पनि मुस्कान खातुनकाे स्वास्थ्य लाभकाे कामना गर्दै भिडियाे सन्देश पठाएका थिए।