एजेन्सी / के तपाईंलाई असाध्यै रिस उठ्छ ? अथवा, स–साना कुरामा चिच्याउने र झगडा गर्नुहुन्छ ? यदि यस्तै गर्नुहुन्छ भने सावधान, किनभने विज्ञानका अनुसार रिसाउँदा तपाईंको तौल बढ्न सक्छ।

सुन्दा अचम्म लाग्यो होला, तर यो वास्तविता हो। बडी साइन्सका अनुसार धेरै रिसाउँदा तपाईं मोटाउनुहुन्छ। साधारणतया हामीलाई दैनिक कुनै कुनै कारणले रिस उठाइरहेको हुन्छ। तर केही मानिसहरुको रिसाउने बानी नै हुन्छ। यदि तपाईं पनि आफ्नो रिस नियन्त्रण गर्न सक्नुहुन्नँ भने तपाईंले यो लेख पढ्नै पर्छ।

रिसले किन बढ्छ तौल ?

के तपाईंले कहिले सोच्नुभएको छ ? रिस उठ्दा तपाईंको शरीरमा स–साना परिवर्तन किन आउन थाल्छन् ? जस्तै, रिस उठ्दा अनुहार रातो हुनु, शरीर थर्थराउनु, आँखा रातो हुनु, सोच्ने र बुझ्ने शक्ति गुमाउनु आदि, इत्यादि। यी सबै परिवर्तन केही विशेष केमिकल्स वा हर्मोनका कारण हुन्छ जस्तै एड्रेनेलिन, सिएचआर र कार्टिसोल।

यी हर्मोन्सलाई तपाईंको दिमागले त्यतिबेला रिलिज गर्छ जब कुनै कारणवश, स्थिती तपाईंले सोचेभन्दा फरक वा इच्छाविपरित हुन्छ। यस्तै, एड्रेनेलिन हर्मोनका कारण तपाईंलाई रिस उठ्छ। यतिबेला तपाईंको शरीरले अत्यधिक मात्रामा इनर्जी रिलिज गर्न थाल्छ जसका कारण शरीर तातो हुन्छ र रक्त प्रवाह बढ्दा आँखा र अनुहार राता हुन्छन्।

रिसले भोक बढाउँछ :

रिस शान्त हुँदा तपाईंको शरीरमा एड्रेनेलिनको स्तर घट्न थाल्छ, त्यसपछि तपाईं शान्त हुन थाल्नुहुन्छ तर कार्टिसोल हर्मोनका कारण तपाईंको रिस तुरुन्त शान्त हुँदैन र तपाईं थोरै समयका लागि चिन्तित वा सोचमग्न हुनुहुन्छ। कार्टिसोल हर्मोनले रिसमा रिलिज गरिएको ऊर्जालाई फिर्ता पाउनका लागि भोक लागेको संकेत पठाउँछ। यसैकारण जब हामी चिन्तित हुन्छौं तब हामीलाई धेरे भोक लाग्छ। रिसले हाम्रो सोच्ने–बुझ्ने योग्यतामा पनि असर पुर्‍याउँछ त्यसकारण धेरै मानिसहरु रिसपछि यस्तो खानेकुरा खान्छन् जुन उनीहरुलाई मिठो लाग्छ, त्यो स्वस्थ नभएपनि।

पेट र कम्मरमा जम्मा हुन्छ बोसो :

रिसले तपाईंको पेट र कम्मर वरिपरि बोसो बढाउँछ किनभने कार्टिसोल हर्मोनले तपाईंको शरीरको मेटाबोलिजमलाई ढिलो बनाइदिन्छ जसका कारण तपाईंले खानुभएको खाना पूर्ण रुपमा ऊर्जामा परिवर्तन नभई बोसोमा परिवर्तन हुनथाल्छ। यसैकारण डिप्रेशन र तनावमा हुँदा तपाईंको पेट वरिपरिको भागमा बोसोको पत्र जम्मा हुन थाल्छ।

कसरी बच्ने ?

हुन त अत्यधिक रिसाउँदा तपाईंको सोच्ने बुझ्ने क्षमतामा ह्रास आउँछ। तर रिस शान्त भइसकेपछि तपाईंले केही कुरामा ध्यान दिएर मोटोपनाबाट बच्न सक्नुहुन्छः

रिस शान्त भएपछि तुरुन्त एक गिलास चिसो पानी पिउनुहोस्। यसले तपाईंको शरीरको तापक्रम कम गर्नुका साथै तपाईंको भोक पनि शान्त गराउँछ।

यदि तपाईंलाई भोक लागेको महसुस हुन्छ भने केही अस्वस्थकर खाना खानुको साटो हल्का वा कम क्यालोरी भएको खाना खानुहोस् जसले तपाईंको भोक पनि शान्त गरोस् र तपाईंले अतिरिक्त बोसो पनि झेल्नु नपरोस्।

रिस शान्त भएपछि गहिरो सास फेर्नुहोस् र आँखालाई दुई मिनेटका लागि बन्द गरेर पल्टिनुहोस् वा बस्नुहोस् वा एकै ठाउँमा उभिनुहोस्। यसले तपाईंको ब्लड प्रेशर नियन्त्रणमा हुन्छ र तपाईं स्थिर हुन सक्नुहुन्छ।