रुपन्देही / नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले दशैँ तिहारपछि कांग्रेसले सरकारविरुद्ध नागरिक सडकमा उतार्ने बताउनु भएको छ।

गुल्मीको हाडहाडे जाने क्रममा बिहान बुटवलमा कार्यकर्ता भेलामा बोल्दै थापाले सरकारले कानुन बनाएरै नागरिकको मौलिक हक, सम्पतिमाथिको हक खोस्ने तयारी गरेकोले त्यसको प्रतिवाद कांग्रेसले सदन र सडकबाट गर्ने चेतावनी दिनुभयो।

संसदमा बहुमत छ भन्दैमा एकपछि अर्को गर्दै सरकारले नागरिकका अधिकार खोसिरहेको भन्दै नेता थापाले सरकारको प्रतिरोधको लागि तयार हुन कार्यकर्तासँग आव्हान गर्नुभयो।

सरकार अलोकप्रिय भइरहेको पीडा पोख्न नेकपाले कार्यकर्तालाई व्यक्तिमाथि आक्रमणमा उतार्न थालेको भन्दै उहाँले लोकतन्त्रमा सबैले सबै प्रकारका विचार राख्न पाउनुपर्ने बताउनुभयो। ‘संविधान निर्माणको अगुवाई गरेको कांग्रेसको दायित्व संविधानको संरक्षण पनि हो ’ थापाले भन्नुभयो।