काठमाण्डौ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनतालाई राहत दिन नसकेको बताउनुभएको छ। काठमाण्डौ क्षेत्र नं १ ले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शनिबार आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले चाडपर्वको बेला महङ्गी ह्वात्तै बढेको बताउनुभयो।

“दुई तिहाइ जनमत पाएको सरकार काममा भन्दा भाषणमा धेरै लाग्यो, भाषणले देश बन्दैन, जनताको न्यूनतम चाहना पनि सरकारले पूरा गर्न सकेन”, उहाँले भन्नुभयो। जनताले वर्तमान सरकारसँग ठूलो अपेक्षा गरेको उहाँको भनाइ थियो।

पूर्वउपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम नगर्न आग्रहसमेत गर्नुभयो। “सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन”, नेता सिंहले भन्नुभयो। नेता सिंहले चाडपर्वको समयमा देशका विभिन्न ठाउँमा भएको सवारी जामले जनता हैरानी खेप्नुपरेको भन्दै जाम पन्छाउनका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।