एजेन्सी / फेसबुकमा कुनै फोटो वा भिडियो पोस्ट गरेपछि हामीलाई त्यसमा आउने लाइकको आसा हुने गर्छ। सुरुदेखि नै लाइक बटन फेसबुकको पहिचानगत विशेषता रहँदै आएको थियो।

अब आएर फेसबुकले यो फिचरलाई बन्द गर्न लागेको छ। यो परिवर्तनपछि तपाईका साथीले तपाईको पोस्टमा आएका लाइक अथवा लब रियाक्सनको संख्या देख्न सक्दैनन् तर प्रयोगकर्ता स्वमयले भने आफ्नो पोस्टको लाइकको संख्या देख्न सक्नेछन्। फेसबुकले अहिले यो परिवर्तनलाई अष्ट्रेलियाका फेसबुक प्रयोगकर्ताहरुमा परिक्षण गरिरहेको छ।

फेसबुकको भनाईमा यसले मानिसमा पोस्ट गर्नुअघि दबाब हुने छैन। कम्पनीले यसबारे प्रष्ट्याउँदै भनेको छ ,‘हामी फेसबुकलाई लाइकको प्रतिस्पर्धा हुने स्थान चाहदैनौं। नयाँ विशेषता प्रयोगकर्ताका लागि कति सुविधाजनक छ भनेर परिक्षण गरिदैंछ। यसको आधारमा संसारभरी यो फिचर लागू गर्ने निर्णय गरिनेछ।’
फेसबुक इन्कको स्वामित्वमा रहेको इन्स्टाग्राममा पहिलेनै यो फिचरको घोषणा गरिएको थियो। इन्स्टाग्रामको पहिलो परिक्षण भने क्यानडामा गरिएको थियो।

अहिले आइरल्याण्ड, जापान, ब्राजिल, अष्ट्रेलिया र न्युजील्याण्डमा यसको परिक्षण विस्तार गरिएको छ। नयाँ परिवर्तनपछि इन्स्टाग्रामका प्रयोगकर्ता आफ्नो पोष्टमा आएको लाइकको संख्या अरुले देख्न नसक्ने बनाउन सक्छन्।