काठमाण्डौ / एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पीआरबीटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन्। साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ताआकर्षक पुरस्कार जित्न सक्नेछन्।

एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पीआरबीटी आफ्नै धुन’को नयाँ भर्सन ल्याएको हो। यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन्।

यो योजना सोमबारदेखि सञ्चालनमा आएको छ। प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार रुपैँया प्राप्त गर्नेछ। त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार रुपैँया पुरस्कार स्वरुप प्राप्त गर्नेछ। विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ।

धुनबनाउने ग्राहकले धुनको पहिलो एक्टिभेसन अर्थात धुन सुचारुवापत तीन रुपैँया बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। त्यसपश्चात् प्रत्येक १० एक्टिभेसनका हिसाबले ३० रुपैँया बोनस पाउनेछन्। यसरी प्राप्त हुने बोनस ३० दिनका लागि मान्य हुनेछ र यसबाट एनसेल नेटवर्कभित्र कल, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सकिनेछ।

प्रिपेड ग्राहकले यस योजनामा भाग लिनका लागि पहिला १७११७ डायल गरी पीआरबीटी आफ्नै धुनसेवा सुचारु गर्नु पर्दछ। त्यस पश्चात् बढीमा २९ सेकेण्डको आफ्नो धुन रेकर्ड गर्नु पर्दछ। यस पीआरबीटी सेवाका लागि प्रत्येक महिनाको शुल्क १० रुपैँया (करसहित १२.७७ रुपैयाँ) रहेको छ।

यस योजनामा भाग लिएर आफ्नै धुन रेकर्ड गर्ने प्रत्येक ग्राहकहरुले आफ्नो धुनको आइडेन्टिटी कोड र एउटा लिङ्क एसएमएसमा प्राप्त गर्नेछन्। लिङ्कलाई सजिलै कपि गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा राखी प्रचार गर्दै अरुलाई आफ्नो धुन पीआरबीटीका रुपमा प्रयोगका लागि अह्वान गर्न सकिन्छ।

यो योजना लागु भएको मितिबाट १२ हप्ता सम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ।