काठमाण्डौ / व्यापक आलोचनाका बाबजुद फेसबुक अहिले पनि विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सामाजिक सञ्जाल हो। दैनिक करोडौँको संख्यामा भिडियो, फोटो तथा अन्य सामाग्रीहरु फेसबुकमा शेयर गरिन्छन्।

फेसबुक प्रयोगकर्ताका लागि यसमा भएका अन्य धेरै फिचरहरुमध्ये ‘लाइक्स’ फिचर सबैभन्दा लोकप्रिय हो। फेसबुक पोष्टहरुको लोकप्रियता मापनका लागि यो एउटा मुख्य मापदण्डसमेत मान्ने गरिएको छ। अर्थात् फेसबुक पोष्टमा जति धेरै लाइक्स प्राप्त भयो उति नै धेरै सो पोष्ट लोकप्रिय रहेको मानिन्छ।

तर अब फेसबुकमा लाइक गर्न नपाइने भएको छ। फेसबुकले लाइक बटनलाई निकट भविष्यमै हटाउँदै छ। फेसबुक स्वयंले यसको पुष्टि गरेको छ। अहिलेबाटै लाइक बटन हटाउने कुराको फेसबुकले परीक्षण सुरु गर्दैछ।

समाचारअनुसार परीक्षणको रुपमा प्रयोगकर्ताहरुले अब आफ्ना पोष्टमा केहीमात्रै लाइक्स देख्न पाउने छन्। अर्थात् अब फेसबुक पोष्टमा लाइक गर्नेहरुको सबै संख्या देखिने छैन। यसबाट फेसबुक प्रयोगकर्ताहरुले आफ्नो पोष्टमा आएका लाइक्सलाई अरुसँग दाँज्न छाड्नेछन्। जसका कारण बढी लाइक्स आउनेलाई लोकप्रिय तथा शक्तिशाली ठान्ने र आफ्ना पोष्टमा कम लाइक्स आएमा डिलिट गर्ने प्रवृत्ति पनि हट्ने विश्वास गरिएको छ।

अहिले फेसबुकको एन्ड्रोइड एपको कोडमा यो फिचर राखिएको छ र प्रयोगकर्ताहरुका लागि सुरु गरिसकिएको छैन। फेसबुकले लाइक फिचर हटाउने परीक्षण कहिलेदेखि सुरु गर्ने भन्ने कुराको बारेमा जानकारी दिएको छैन।