विराटनगर / नेपालमा तीन महिना अघिदेखि धरानमा देखिएको डेंगुको संक्रमणले ठूलो महामारीको रूप लिन थालेको छ। देशभर अहिले मानिसहरूमा डेंगुको संक्रमण निकै बढ्दो छ। डेंगु हुँदा टाउको दुख्नु, जीउ कटकट खानु, ज्वरो आउनु, आँखाको गेडी दुख्नु सुरुमै देखिने सामान्य लक्षण हुन्।

लक्षण देखिनासाथ सबैजसोलाई दैनिक काम गर्न गाह्रो भएपछि आफ्नो घरमा भएको दुखाइ काम गर्ने औषधि अर्थात् पेन किलर खान्छौं। टाउको र जीउ साह्रै दुखेमा मेडिकलवालाहरूले पनि पेन किलर खाने सुझाव दिँदै आएका हुन्छन्। तर, डेंगु संक्रमण भएका बेला यस्ता दुखाइ कम गर्ने औषधिले स्वास्थ्य सुधार गर्नुभन्दा पनि शरीरलाई नकारात्मक असर पुर्याएर खतराजनक अवस्थामा पुर्याइरहेको हुन्छ।

वरिष्ठ मुटु रोग विशेषज्ञ रामेश कोइरालाका अनुसार डेंगु संक्रमणमा केही पेन किलरहरूले बिरामीलाई थप जोखिममा र्पुयाइदिने बताउनुभएको छ। डेंगुका बिरामीहरूमा आन्तरिक रक्तस्राव भएका कारण उनीको ज्यान जान सक्छ। केही पेन किलरले शरीरको बाहिर र भित्री अंगहरूमा रक्तश्राव हुन झनै सहयोग पुर्याउने हुँदा समस्या उत्पन्न हुने गर्छ। ब्रुसेट, ब्रुफिन, फ्लेक्जन, निम्स लगायतका अन्य पेन किलरले शरीरमा रक्तश्राव बढाउन सहयोग गर्छ।

यस्ता दुखाइ कम गर्ने औषधीलाई नन स्टेरोइडल एन्टी इन्फ्लामेटरि ड्रग्स भएका औषधि भनिने गरिन्छ। डेंगु भएका बिरामीको रगतमा ‘प्लेट्लेट्स’ को मात्रा निकै कम हुन्छ। प्लेट्लेट्स भनेको रगतमा हुने साना सेता कोषिका हुन्। तिनले रगत जमाएर बग्न नदिने काम गर्छन्। डाक्टर कोइरालाका अनुसार यस्तो अवस्थामा माथि उल्लेखित पेन किलरहरू खाएमा सो औषधिले रगतको ’प्लेट्लेट्स’लाई कम गर्न झनै व्यवधान र्पुयाउने गर्छन्। रगतको प्लेट्लेट्सलाई कम गरेर रक्तश्राव हुने सम्भावना झनै धेरै हुन्छ।

यी औषधिहरूले दुखाइ र ज्वरो कम गर्ने भए पनि यिनीहरूले शरीरमा रगत जम्न नदिएर शरीरभित्र चाँडै रक्तस्राव गराउने गर्दछन्। यी औषधिहरूले कलेजोमा पनि असर गर्छन्। त्यसैले डेंगुको प्रकोप चलेको बेलामा शरीर, टाउको दुख्यो भने सामान्य पारासिटामोल मात्र खाएर तुरून्त डाक्टरकहाँ जानुपर्ने सुझाव दिनुभएको छ। आफैं जान्ने भएर वा मेडिकलवालाको सुझाव तथा भरमा कुनै पनि पेन किलरको प्रयोग गर्नु हुँदैन।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेककुमार लालका अनुसार डेंगुका उपचारको निम्ति कुनै विशेष औषधि वा खोप नबनेको हुदा विश्व स्वास्थ्य संगठनले पनि डेंगुको ज्वरो र सो समयमा हुने दुखाइमा ’एनएसएआइडी’ भएका औषधिहरू नखान सुझाव दिएको छ।

डेंगुको गम्भीर लक्षण भनेको आँखा, नाक, मुखबाट रगत बग्नु हो। यसमा अझ पछिबाट दुखाइ कम गर्न खाइएको पेन किलरको भूमिका बलियो हुन जान्छ। रक्तस्राव हुने अवस्थामा पुगेको मान्छेले राम्ररी उपचार नपाएको खण्डमा बिरामीको ज्यान जान्छ। धेरै मानिसहरुले थाहै नपाइ यस्तो पेन किलरको सेवनले आफ्नो ज्यान जोखिममा पारिरहेका हुन्छन्। सामान्यतया ज्वरो, रुघाखोकी, टाउको, पेट दुख्ने र एकदमै धेरै जीउ हात गल्छ भने अवस्थामा पेन किलर खानुहुँदैन। सामान्य पारासिटामोल र दाल, फलफुलको जुस, तरकारीको सुप, सादा पानी जस्ता झोलिलो पदार्थहरु प्रसस्त मात्रामा खानु पर्छ।