‘सर’ के छ, कहाँ हो आजकल ? पाँच सेकेन्ड अगाडी आएको फोन उठाउँदा को पहिलो प्रश्न थियो त्यो। काठमाडौँ को पोष्टपेड मोबाईलको नम्बर देखेको थिए उठाउनु अघि, ‘मैले चिनिन त !’उत्तर दिए । “हैट साथि लाइ पनि बिर्सिदिने”? उताबाट अर्को प्रश्न। “नम्बर सँगसँगै टेलिकमले अनुहार मोबाइलको स्क्रिनमा पठाईदिन्छ र चिन्नु”? मजाकिया पाराले उत्तर दिए। “स्वर ले त चिन्न सकिन्छ नि साथि”! फेरी चिनाउनु त कता हो कता अर्को प्रश्नको तगारो, मलाई खासमा फोनमा यस्तो कन्भर्सेसन बिल्कुलै मनपर्दैन र त्यो बेला नेटवर्कले पनि साथ दियो फोन बिच्छेद भयो। नारी स्वर थियो त्यो कहिले कतै नसुनेको जस्तो। सम्झे कतै मेरै साथी मध्यका कसैले नयाँ नम्बर लिएर “चाट्न” खोज्या त हैनन? उनीहरु एक/ एकको अनुहार अनायासै रिल झैँ मस्तिस्क मा घुम्न थाल्यो। डिग्री, प्लस टु र ब्याचलर पढ्दाका सबै सबैको। फेरी सर्ट लिस्ट गरे “तिमि” र “तपाइँ” भन्ने मध्येबाट, तँ भन्ने केटी साथि सायद थिएनन् वा सम्झन सकिन। दिमागको कसरत मात्र भयो निचोड निस्किएन।

दश बज्न लागिसकेछ जसरी पनि आज कपि काटि सक्नुपर्छ, फोन लाई स्विच अफ गरेर अलि पर टेबुलमा राख्दै एउटा उत्तर पुस्तिका पल्टाए। नौ बजे नै सुति सक्नुपर्ने मान्छे म “खाना साँचे अरुलाई काम साँचे आफुलाई” भन्ने टुक्का आज कै दिनका लागि बनाएको होकी जस्तो लाग्यो। टुक्का सँगसँगै ओठमा चुर च्याप्ने हजुरबुवाको पनि याद आयो “टुक्के हजुरबुवा” को, अक्सर टुक्काहरु आफ्नो जीबनमा मेल खाँदा सम्झन्छु, पन्ध्र बर्ष भएछ बैकुण्ठ जानु भएको। मैले धेरै जसो नेपाली उखान टुक्काहरु उहाबाट नै सिकेको भन्दापनि हुन्छ। पाँच,छ,सात ! औला लाई उत्तर पुस्तिकाको दाहिने टुप्पामा एक/ एक गर्दै छिराएर गने। हिसाब गरे अझै डेढ घण्टा लाग्ने रैछ यहि गतिले काम सक्न। फेसबुक लगईन गरेर एकछिन फ्रेस हुँ कि जस्तो पनि लागेको थियो, तर मोबाइल स्विच अफ भएकोले जाँगर चलेन। घडीले आफ्नो धर्म निभाईरहेको थियो एक तमासले रात्रिको शुन्यतालाई टिक टिक आवाजले चिर्दै, म आफ्नो धर्म निभाइरहेको थिए। मलाई निन्द्राले गाँज्न थालिसकेको थियो। त्यहि पनि बाँकि रहेका दुईटा कपि सक्ने निधो गर्दै काममा केन्द्रित भए तर ध्यान भने अनायास नै त्यो अघि आएको फोन सम्झदै उडिरहेको थियो। रातो डटले चार लाई गोलो घेरा भित्र कैद गर्दै त्यो अन्तिम कपिको अन्तिम उत्तर पनि चेक गरिसकँे। अब भने मनमा एक किसिमको सन्तोष अनुभव भयो, भोलि बिद्यार्थीलाई नम्बर सुनाउन पाउने भए। एकबर्ष अघि डेटलाईनमा कपि काटेर नसक्दा “सिम्रन म्याम” ले क्याम्पस चिफको भनाई खाएको कुरा मानसपटलमा नाच्न थाल्यो। हो उही सिम्रन म्याम जसले आठ महिना अघि कलेज पढाउन छोडेर वा भनौ यो ठाउ लाई नै माया मारेर नयाँ तरिका ले जिउछु भन्दै राजधानी गएकी थिईन। सुत्ने तरखर गर्नै लाग्दा सिम्रन म्यामलाई सम्झन थाले। “ओ माइ गड” त्यो अघिको आवाज...अलि अलि भासिए जस्तो ठ्याकै सिम्रन म्यामको जस्तो, मैले उनलाई जिस्काउने भाषामा भन्दा “रानी मुखर्जी” को जस्तो कतै उनि नै पो थिईन कि ?

“म त यो क्याम्पस चिफलाई फुटेको आँखाले पनि देख्न सक्दिन” गालि खाएको भोलिपल्ट कलेज क्यान्टिनमा चिया खान जाँदाजाँदै मेरो कानै छेउमा भनेकी थिई उसले। “दाइ दुई कप चिया” उसले नै अर्डर गरेकी थिई, एउटा फिका अर्को दुध हालेको। “अनि आँखा सग्लै छन् मजाले हेर्दा भै हाल्यो नि ! फुटेपछी नहेर्नु के” मैले जिस्काए। कर्के आँखाले म तिर हेर्दै बोलिन “सर पनि खालि जिस्किने के”। दोकानेले फिका चिया मेरो अगाडी र दुध हालेको म्यामको अगाडी राखिदिदै भन्यो “बिस्कुट पनि दिउँ सर” ? “हैन तपाइँलाई अझै सम्म कसले फिका खान्छ र कसले दुध चिया खान्छ याद गर्नु भा छैन? लगभग बिस बाइस दिन जति भईसकेको त हामिले यहाँ सँगै चिया खान थाल्या त” ! एउटा हातले म तिरको फिका चिया तान्दै र अर्को हातले दुध चिया मेरो अगिल्तिर राख्दै अलि रुखो स्वरमा पसले तिर हेर्दै झपारे पाराले भनेकी थिईन म्याम ल े! “म्यामले शनिबार पनि गन्नुभयो कि क्याहो”, फिस्स हाँस्दै मैले जबाफ दिए दोकाने को सट्टा। “कुरा चाँहि कति आउछ है तपाइँलाई” भन्दै एक प्याकेट बिस्कुट पनि मगाईन म्याम ले। चिया पिउन्जेल लगभग मौन नै बसेका थियौँ हामि। बेला बेलामा उनले चियामा बिस्कुट चोबेर मुख सम्म ल्याई नपु¥याउँदै तल झरेको दृश्यले मलाई मनमनै खुब हाँस उठेको थियो। पल्लो टेबुलमा बसेको एउटा विद्यार्थी बेला बेलामा हामीलाई कर्के आँखाले हेरिरहेको हुन्थ्यो शायद हाम्रो “अफेयर” चले जस्तो लाग्दो हो त्यसलाई। पचास रुपैँयाको नोट आफ्नो हाते पर्सबाट निकालेर दोकानेलाई दिदै म तिर फर्केर भनिन “जाउँ सर घन्टी लाग्न आँट्यो मेरो क्लास छ।” दाहिने तिरको कुममा मात्र अडिएको सललाई देब्रे कुम तिर पनि हाल्दै म्याम क्यान्टिनबाट बाहिरिईन, म उनको पछी पछी लागेँ। जाँदाजाँदै पछाडी मतिर फर्केर भनिन “त्यो क्याम्पस चिफलाई ब्लक हानिदिएँ नि मैले फेसबुकमा, त्यति सानो कुरामा मलाई सबैको अगाडी बेइज्जत गर्ने खुब”। “बास्तबमा सम्झाउनुपथ्र्यो गालि नै गरि हाल्नु हुदैनथ्यो सरले पनि अब तपाईको राम्रा राम्रा फोटा हेर्न नपाउने भए बिचराले”। व्यंग्यात्मक पाराले हाँस्दै भने। “धेरै जिस्काउनुभयो भने तपाइलाई पनि ब्लक हान्दिउला नि” भन्दै उनि अफिस रुम तिर लागेकी थिईन त्यो दिन।

घडीको टिक टिकले सुत्नलाई डिस्टर्ब गरेको हो कि जस्तो भान भईरहेको थियो। अस्तिको शनिबार जितेन्द्रले फारवेसगञ्जमा डिजिटल भित्तेघडी किन्दा मैले पनि किनेको भए यो टिक टिक त सुन्नु नपर्ने थियो, त्यो हजुरबुवाको पालाको जाबो घडीले जहिले पनि च्यालेञ्ज गरे जसरी भित्तो छोड्न मान्दैन। खै के भावना जोडिएका छ आमा सँग त्यो घडी प्रति। कोठाको पूर्व तिरको देब्रे कुनामा माकुराको जालोमा किराहरु फसे जसरी मेरो पनि दिमाग निदाउन नसकेर सिम्रन म्यामको यादमा फसिरहेको थियो। लगभग अढाई बर्ष अगाडी नै हो म आफ्नो क्लासमा पढाई रहँदा झ्यालबाट पहिलो चोटी देखेको थिए सिम्रन म्यामलाई, उनि सारीमा थिईन नाइटो देखिने गरि लगाएको सारीमा। पहेलो बोर्डर भएको पुरै हरियो साडीमा उनको गोरो अनुहार सारै खुलेको थियो। कानमा पनि अलि लामै झुण्ड्याएकि थिईन कुण्डल, झट्ट हेर्दा पनि याद हुने गरि। कुनै एंगलबाट पनि कलेज पढाउन आए जस्तो नलाग्ने र मलाई त्यो दिन लागेको थिएन कि यिनी कलेज पढाउन आएकी हुन भनेर। कुनै मोडल जस्ती देखिएकी थिईन सिम्रन म्याम। मेरो बुझाईमा कलेज पढाउने स्त्री भन्नासाथ “अञ्जना म्याम” जस्तो हुनुपर्छ जस्तो लाग्थ्यो। टियु किर्तिपुरमा पढ्दा हामीलाई “एच आर एम” पढाउनुहुन्थ्यो अञ्जना म्याम। साह्रै सादगी लाग्थ्यो उहाँको व्यक्तित्व, सेतो कलर उहाँको प्रिय कलर भन्ने बुजिन्थ्यो म्यामको लवाइ बाट। मेकअप पनि खास्सै गरे जस्तो लाग्दैन थियो, मलाई त “बिधवा” जस्तो पनि लागेको थियो तर हैन रहेछ। अञ्जना म्याम अनि मैले झ्यालबाट देखेको सिम्रन म्याममा आकास जमिनको फरक, कसरी लागोस त मलाई उनि कलेज पढाउन आए जस्तो? अंग्रेजी पढाउन आएकी रहिछन, दार्जेलिंग तिर कि उनि तर पढाई चाहिँ नेपालमा नै सकेकी रहिछन किर्तिपुरबाट नै। हल्काफुल्का डिटेल सहकर्मीहरुबाट थाहा पाएको थिए, मेरो त पन्ध्र बिस दिन त उनिसँग औपचारिक बाहेक अरु त कुरै भएको थिएन । प्राय उनि कुर्ता सलवार र सारी मै हुन्थिन तर अलि भड्किलो नै लाग्थ्यो उनको लवाई। फेसनेबल। बोल्दा अलि अलि अंग्रेजी मिसाउँथिन नेपाली एफएम रेडियोका आरजेले बोले जस्तो गरि। अरु सहकर्मीसँग पनि त्यति सारो बोलेको देख्दिनथे तर कलेज कै एकाउन्टेन्ट बहिनिसँग क्यान्टिन जाने गरेको देखिन्थ्यो। “यी म्याम त “डिभोर्सवाली” पो रहिछिन त” राम सरले चिया पिउदा पिउँदै बोले, एकाउन्टेन्ट बहिनिले भनेको रे ! म एक छिन ट्वाँ परेको थिए।

“सर”! हावा संगसंगै कुनै नारि आवाजले मेरो कानमा स्पर्श गरेजस्तो लाग्यो र फनक्क फर्केर हेरेको सिम्रन म्याम रहिछन। उनले मलाई पहिलो चोटी त्यसरी बोलाएकी थिईन, उनि आएको लगभग दुई महिनापछी। “क्यान्टिन जानुभएको हो भने सँगै जाउँल” प्रस्ताब राखिन, रिचार्ज कार्ड किन्न बाहिर हिडेको म उनिसँग सामिप्यता बढ्ने लोभले केहि नसोची हुन्छ भन्दिएँ। खै केले हो उनिसँग अप्रत्यक्ष्य रुपमा आकर्षित भईरहेको थिएँ देखेदेखि नै। म रोकिएँ उनि मेरो समानान्तरमा आइसकेपछी सँगै पाइला चाल्न थाल्यौँ। क्यान्टिन नपुगुन्जेल गफ फुर्न पनि गाह्रो प¥यो,उनिबाट पनि म बाट पनि। खै कहाँबाट किन मेरो अनुहारमा लाजले घेरेजस्तो पो लागिरहेको थियो, रातो रातो भएको भान भयो। सधै आफु बस्ने टेबलमा गएर बसेँ तर नयाँ मान्छे संग। प्राय म एक्लै आउने गर्छु क्यान्टिन अनि चुरोट पिउन मन लाग्यो भने चाहिँ राम सरलाई ल्याउछु र म चुरोट पनि यो क्यान्टिन बाहेक अरु ठाउँमा तान्दिन पनि। तलतलले भन्दा पनि रहरले पिउन गर्छु चुरोट। “सरको “होम” यहि बिराटनगर हो?” ठ्याक्कै मेरो बिपरितमा बस्नको लागि सलको छेउले कुर्सी पुछ्दै प्रश्न सोधिन। मैले हो भन्ने भावको टाउको हल्लाएर थाहा पाएपनि उनको घर सोधेँ। “ला तपाईलाई अहिलेसम्म थाहा छैन? दार्जेलिंङ हो, जानुभएको छ? जानुभएको होला नि टुर सुरमा ! आफै प्रश्न गर्दै आफै उत्तर दिईन म्यामले मानौ कि दार्जेलिङवाला च्याप्टर अब सकिदिउ भने जसो गरि। “गएको छुइन त म्याम! सार्है राम्रो छ रे नि त हो?” मैले प्रश्न तेस्र्याएँ। “खै आइ डोन्ट नो, आफु त त्यहि जन्मी हुर्की गरेर होला के राम्रो के नराम्रो भन्नु, सबैले भन्छन राम्रो नै भएर होला”। सुन्दरताको बयान खासै नगरी उत्तर दिईन। सधैझैँ अर्डर नै नगरी चिया ल्याउने साहुजीले आजपनि दुईटा चिया आफै ज्ञान जानेर ल्याएछ र हाम्रो अघिल्तिर राख्यो। “सधै म “फिका चिया” खाने मान्छेलाई आज चाहिँ किन दुध चिया ल्याइदिनु भएको साहुजी? म्यामले सोधिन। “आज दुध चिया खाने साथीसँग आउनु भएछ त्यहि भएर” साहुजीले हल्का जिस्काउने पाराले जवाफ दिए। म्याम मिठो पाराले लेघ्रो तानेर आदेश गरिन साहुजीलाई “दाइ यो लगेर फिका चिया ल्याउनु त अनि एक प्याकेट बिस्कुट पनि”। “तपाइँसँग प्रायः यहाँ आउने एकाउन्टेन्ट बहिनि पनि फिका चिया वाला पाटि हुन् ?” सोधे। उनले अँ भन्दै टाउको दुईचोटी हल्लाएकि थिईन। त्यहिदिन थाहा पाएको थिए उनि फिका चिया खांँदी रहिछन र चियासँग बिस्कुट पनि अनिवार्य जस्तै रहेछ उनलाई। क्यान्टिनबाट बाहिरिएपछी उनि अफिस कोठा तिर गईन म चाहिँ रिचार्ज कार्ड किन्न कलेज गेट तिर। त्यो दिनदेखि हाम्रो दोस्ती राम्रै गरि फस्टाएको थियो।

“तपाइँको स्वर त ठ्याक्कै मलाई ’रानी मुखर्जी’ को जस्तो लाग्छ” पिकनिक जाँदै गर्दा बसमा मैले म्यामलाई कम्प्लिमेन्ट दिएको थिएँ। “इट मिन्स गुड अर ब्याड?” अंग्रेजीमा प्रश्न सोधिन। “ साउण्ड गुड, आई लब द भ्वाइस” मैले पनि अंग्रेजीमा नै फर्काइ दिए र अगाडी पछाडी सिटकाले सुनेकी भनेर पल्याकपुलुक हेरेको थिए। उनि केहि बोलिनन् सोचे जस्तो गर्दैथिन। जाडो महिना थियो। हुस्सुले बाहिरका दृष्यहरु त्यति राम्ररी देखिएका थिएनन्। हामी कन्याम जाँदै थियौँ, बिद्यार्थीलाई लिएर। म्यामले नै मलाइ उनको छेउको सिट रोकेर राखेकी रहिछन अरु कसैलाई बस्न नदिई। जिन्स र सेतो सुइटरमा थिईन् म्याम। पछाडी भिर्ने ‘चेल्सी’ लेखेको ब्याग बोकेकी थिईन, भुक्क उठेको थियो ब्याग। झ्यालको सिसा अलिकति खोलिएको थियो त्यहिबाट छिरेको हावाले उनको कपाललाई जिस्काइरहेको थियो र उनको कपालले मलाई। बेलाबेला मेरो अनुहारमा काउकुती लाउन आउथ्यो उनले उन्मुक्त छोडी दिएको कपालले, मैले पनि उनको कपाल उनलाई नै सम्हाल्ने जिम्मा दिएको थिए। डिस्टर्ब गरेजस्तो लागेर होला एउटा रबरले कपाललाई बाँधेर जुरो बनाइन। त्यसलाई उड्न नै दिनुस् न म्याम भनेर भन्न पनि सकिन रमाइलै लागे पनि। कुनै कोणबाट उनि बिहे गरिसकेर ‘डिभोर्स’ भएको महिला जस्तो लाग्दैनथ्यो र मैले आजसम्म पनि यो बारेमा म्याम स्वयंलाई सोधेको थिईन। आजको पहिरन त झन् टिनएजरको जस्तो देखिएको थियो। कतै राम सरले ढाँटेका त हैनन् ! अरु कसैको मुखबाट मैले सुनेको थिईन त्यो एक बर्षको अबधिमा। आज मौका हुन सक्थ्यो ‘सिम्रन म्याम’ को व्यक्तिगत जीवन खोतल्ने । “एउटा बिद्यार्थीले पनि भन्दै थियो मेरो स्वर ‘रानी’ सँग मिल्छ रे” अलि अल्छी पाराले धेरै बेरको मौनता भंग गरिन। “ए हो र ?” मैले पनि उस्तैगरी जवाफ दिए किनकि मलाई एकछिन मौन भएर सोच्न मन लागेको थियो उनकै बारेमा। उनको डिभोर्स भएकै थियो भनेपनि उमेर खाएकी भने हैनन् पक्कै, ‘फिगरले’ बच्चाबच्ची नभएको कुरा दर्शाई रहेको थियो। पुलुक्क उनि तिर हेरेँ गाजलले लामो कोष तानेको आँखाका ढक्कन बन्द थिए, झकाएकी रहिछिन। बिराटनगर बरगाछीमा डेरामा नै बस्छु भन्थिन, कहाँ बस्थिन त्यो पनि थाहा थिएन। मैले उनको निजि जीन्दगी कहिले पनि खोतल्ने प्रयास गरेको थिईन र उनि पनि मेरो निजि जीन्दगीको बारेमा गहिराई सम्म पुग्दिन थिईन हाम्रो यो आठ महिने संगतमा। गीतको च्वाइस बाहेक अर्को मिल्ने कुरो त्यति बेलै थाहा पाए उनको र मेरो, उनि घुर्दी रहिछन सुत्दा।

कन्याम पुग्दा साढे नौ जति बजेको थियो होला। जाडो महिना भएपनि घाम पारिलो लागेकाले न्यानो अनुभब भईरहेको थियो। ग्याँस जोडेर चिया खाजा बनाउने तयारी गरिदै थियो। एकैछिनपछी सबैको ओठमा तातो चियाले स्पर्श गर्न थालिसकेको थियो तर सिम्रन म्यामलाई फिका चिया बनेन छ। “म्याम आज दुधवाला ट्राइ गर्नु न” मैले सुझाव दिए । “नो! बरु म आफै बनाएर खान्छु ब्ल्याक टि” उत्तर पाएको थिए मैले। खाईन कि खाईनन् मैले वास्ता पनि गरिन। खानापछि दिउसोतिर फोटो खिच्न हामी दुई भिडबाट छुटिएका थियौ कुनै प्रेमिल जोडी जस्तो गरेर। उनैले प्रस्ताब राखेकी थिईन। उनकै डिजिटल क्यामेराले प्रकृतिलाई पर्दा बनाएर धेरै फोटोहरु कैद गरियो र सँगै कैद भए ती अमुर्त पलहरु मन भित्र,उनिसँगका साथहरु। त्यो क्षण धेरै नै सामिप्यता महसुश गरिरहेको थिए सिम्रन म्याम सँग। भित्रभित्रै एउटा आकर्षणको बल्छिमा उनिए जस्तो महशुस हँुदै थियो मलाई पहिलो पटक उनिप्रति। हामीमात्र हिडदा अरुले के सोचे होलान भन्ने पनि नलागेको हैन तर उनिसँगको साथको मिठासले जानिजानि बिर्सिदिन्थे यी सब कुराहरु, खै उनि के सोच्दथिन? म्यामको सामिप्यतामा म निकै रमाइरहेको थिए। एउटा भिरालो ठाउँमा उनको रुमालले भुइँ सफा गर्दै मलाई बस्ने संकेत गरिन। म थुचुक्क बसँे। उनि अलिकति ग्याप राखेर मेरै छेउ बासिन स्यान्डल ओछ्याएर। सुइटर खोल्दै काँधको दुइतिरबाट बाउलालाई झार्दै मौनतालाई भंग गरिन म्याम ले “डु यु नो मलाइ मेरो हस्ब्याण्डले बिहे गरेको तीन महिनामा नै छोडेर काठमाण्डौ गएको थियो र त्यसको पाँच महिनापछी ‘डिभोर्स’! डिग्री सकेर दार्जेलिंग गएको बेला बुवाको करले बिहे भएको थियो एउटा ‘प्रोफेसर’ संग ! दश वर्ष जेठो प्रोफेसर”। एकै सासमा मेरो सस्पेन्स खोलिदिएकि थिईन म्यामले। फिल्म हेर्नु अगाडी नै कसैले सबै कहानी भने जस्तो भयो त्यो क्षण। स्ट्रगलका धेरै कुरा शेयर गरिन लगभग एक घण्टाको अबधिमा र मैले पनि। हामी त्यहाँबाट उठ्यौ हुलमा मिसिनका लागि। हिड्दै गर्दा ब्यागबाट चुईगम निकाल्दै दिईन मलाई। “बिहा गर्दा तपाईको उमेर कति थियो” अघिदेखि खुल्दुल भएको प्रश्न सोधे हिडाई सँगै। “ट्वान्टीसिक्स” सटिक उत्तर थियो उनको। हिसाब लगाए उनि म भन्दा डेढ बर्ष जेठी रहिछन।

दुई बजी सकेछ! घडीको घन्टावाला काँटाले लगभग पैतालिस डिग्रीको कोणमा तेर्सिएर बताईरहेको छ। निन्द्रा लागेन, ढिलो सुतेर हो कि अनायासै दिमागमा याद बनेर आएकि सिम्रनम्यामले हो बुझ्न नसकेपनि दुइवटैको समिश्रण चाँहि पक्कै हो भन्ने लाग्यो। जति प्रयास गर्दा पनि निन्द्रालाई आफ्नो फेभरमा बनाउन सकिन, कोल्टे फेराइले पनि सिमा नाघिसक्यो जसरी त्यो बेला सिम्रन म्याम प्रतिको मेरो आशक्तिले नाघेको थियो। लगभग सिम्रन म्याम आएको डेढ बर्ष भईसकेको थियो, कलेजमा हामि निक्कै नजिक भईसकेका थियौँ अरुले कुरा काट्ने गरि। तर हाम्रो घोषित प्रेम सम्बन्ध चाहिँ थिएन। कलेज बाहिर कहिलेकाँही मात्र हामिले साथ गुजारेका थियौँ, त्यो पनि मेरो आग्रहमा मात्र प्राय। उनको डेरा बरगाछीमा दुई पटक खाना खाने गरि गएको याद छ। दशैँमा मलाई भरिया बनाएर सपिंङ गर्न जोगबनी लागेकी थिईन एकपटक, सायद मेरो मोटरसाइकलको फाइदा लिन पनि होला। अदालतमा कहिलेकाँही मलाई लिएर जाने गर्थिन सायद डिभोर्स सम्बन्धि नै काम होकि जस्तो लाग्थ्यो। सोद्धा प्रोपर्टी सम्बन्धि हो भन्थिन म त्यति चाख दिएर कोट्याउदिन थिए। जस्तोसुकै हाम्रो सम्बन्ध भएपनि म भने प्रेमको गहिराईमा चुर्लुम्म डुब्दै गईरहेको थिए, उमेर र डिभोर्स शब्दलाई मेरो प्रेमले बिजय प्राप्त गरे जस्तो लाग्दथ्यो। तर म्याममा भने मैले त्यो कुरा फिल गरेको थिईन।

“सर, भोलि शनिबार रैछ भेडेटार घुम्न जाउ न ल! म कैले गएकी छैन”। उनले कलेज छोडेर जानुभन्दा हप्ता दिन अगाडी कलेज गेटबाट निस्कदै गर्दा प्रस्ताब राखेकी थिईन। मेरो पनि खासै काम नभएकाले र उनको साथ र भेडेटारको कल्पनाले हुन्छ भन्दिएँ। सायद एक्लै बस्ने भएर होला म्यामलाई जे इच्छा लाग्यो त्यो गर्थिन धेरै माथि उडिरहेको चंगा धागोबाट चुट्टिएर हावाको बहावसँगै उडे जसरी। उनको मनले जता उडायो त्यतै उड्थिन म्याम। भोलिपल्ट म्यामलाई लिन उनको डेरा नै पुगेको थिए। उनि तयार परेर कोठामा ताला लगाई वरी मेरै प्रतिक्षामा गेटमा बसेकी रहिछन्। गला अलि बढी नै खुलेको टिसर्ट र कालो जिन्स अनि आँखिभौँ नै छोपिने गरि ठुलो फ्रेम भएको कालो ‘सनग्लास’ लगाएकी रहिछन।

“भेडेटारमा त जाडो हुन्छ म्याम यस्तो च्यांग्लो टिसर्टले त थाम्दैन” मैले सतर्क गराएको थिए। “छ ब्यागमा अलि मोटो पनि” उनले देब्रे हातको बुडीऔंलाले पछाडी भिरेको उनको ब्यागमा संकेत गर्दै भनिन्। समयको रफ्तारसँगै हामी गफ गर्दै भेडेटार पुगेको थियौँ लगभग बार बजे तिर। “भाई दुइकप चिया ल, दुइटै फिक्का” एउटा होटलमा पसेर टेबलमा बस्दै मैले अर्डर गरेको थिए। उनले ब्याग बाट जिन्सको ज्याकेट निकालेर लगाउदै प्रतिबाद गर्दै भनिन “आज तपाइँको च्वाइसको खान्छु, भाई दुईवटा नै मिल्क टि ल”। त्यो दिन पहिलो पटक उनले दुध चिया खाएको देखेको थिए यत्रो लामो संगतमा।

“सर तान्नु तान्नु” चाल्र्स पोइन्ट चढ्दै गर्दा अन्तिम खुट्किलोमा म्यामले दाहिने हात दिएकि थिईन। मैले अलि सारो झट्का दिदै उनलाई तानेको थिए। चिसो हावाले रोमान्टिक बनाइरहेको थियो मौसमलाई त्यो टुप्पोमा। म्याम प्रतिको प्रेम लाई पोखिदिने बिचार आउँथ्यो मनमा तर उनले उठाइनन् र असरल्ल पर्ने हुन् कि मेरा भावना भन्ने भयले कताकता आँट गर्न सकेको थिईन। मौका र अवसर पनि नमिलेको हैन फेरी। “सर आज यतै बसौ है” टुप्पाबाट धरान तिरको दृष्य हेर्दै म्यामले प्रस्ताब राखेकी थिईन। मैले सोच्दै नसोचेको कुरो एक्कासी कानमा पर्दा अतालिए झैँ भएको थिए, के उत्तर दिने सोच्नै सकिन। “म्याम पुगिदैन भनेर हो? पुगिन्छ बिराटनगर” । शंका गर्दै उत्तर दिए। “हैन! तपाइँसँग एक रात बिताउन मन छ”, म्यामले सोच्दै नसोची उत्तर दिईन। म ठिक तरिकाले म्यामसँग आँखा जुधाउन सकिरहेको थिईन। उनको चरित्रप्रति शंका गर्न सकिहाल्ने स्थितिमा पनि थिईन कतै उनि पनि मेरो गहिरो प्रेममा परिसकेकि थिईन् कि?

“किन डर लाग्यो”? व्यंग्यात्मक पाराले प्रश्न गरिन म्यामले मानौ कि त्यो उनको लागि सहज कुरो थियो। “डर त मलाई हैन तपाईलाई लाग्नुपर्ने होला हैन र ?” मैले डिप्लोमेटिक उत्तर दिएँ। उनि मौन बसिन अलि पर्तिरको डाडोलाई बादलले छोप्दै गरेको दृष्य हेर्दै। “म आजाद भईसकेको पंक्षीलाई के को डर र सर ? म अव जीन्दगी जीउन चाहन्छु बिताउन हैन” उनले अलिक दार्शनिक उत्तरले मौनता तोडिन मलाई उनिसँग तर्क बितर्क गर्न खासै मन लागेन धेरै प्रश्नहरुको पोको मनमा गाँठो परेको भएपनि।

त्यो भेडेटारको रातसँगै सिम्रन म्यामसँगको देह ‘सिमा’ समाप्त भएको थियो। भौतिक रुपमा त्यति नजिक भएर पनि त्यो रात आत्मिक रुपमा पनि यतिनै नजिक हुन चाहन्छु भनेर भन्नै सकिन। भोलिपल्ट भेडेटारबाट धरान तिर झर्दै गर्दा आँट गरेर प्रेम प्रस्ताव राखेको थिए मैले खित्का छोडेर हाँसिन मात्र मेरो कुरा सुनेर। कुनै उत्तर दिईनन। बाईकको आवाजले गफ गर्न डिस्टर्ब नै हुने भएकोले म पनि मौन नै बसेको थिए। धरान जिरो पोइन्टमा आइपुगेपछि चिया खाने प्रस्ताव राखिन र मैले पनि बाईक चिया पसल अगाडी लगेर तेस्र्याएँ।

“भाइ यो जुठो ग्लासहरु लैजाउ त अनि दुईवटा ब्ल्याक टि लिएर आउ” टेबलमा बस्दै रेस्टुरेन्टको भाइलाई आदेश गरिन, “सर ! आएम सरि म तपाइको प्रेमलाई विकार गर्न सक्दिन अब रिजन चाहिँ नसोध्नुहोला किन भनेर, तर यदि मलाई डिभी प¥यो भने चाँहि तपाईलाई म नै भगाएर अमेरिका लान्छु र म सँग भागेपछि सधै फिका चिया खानुपर्छ यो चाँहि शर्त है, ओदर वाइज् नो चान्स।” बाटोको कुराको सिलसिलालाई अगाडी बढाए जस्तो गरि ‘नो चान्स’ सँगै सबै कुरा मजाकिया पाराले समाप्त पारिदिएकि थिईन। मैले अपेक्षा नगरेको उत्तर पाए र स्तब्ध भए अनि अरु प्रश्न गर्नु उचित पनि ठानिन। लगभग बिहानको एघार बजेतिर उनलाई बरगाछीमा डेरा अगाडी छोडेर म घर आएको थिए त्यो दिन।

उफ! तीन बजी सकेछ निन्द्रा पटक्कै लाग्या छैन भोलि दिउसो झ्याप झ्याप पार्ने भो मलाई झ्याउकिरीको आवाज पनि कुनै फिल्मको ब्याकग्राउण्ड साउण्ड जस्तै भईरहेको छ रिल झैँ दिमागमा घुमिरहेको सिम्रन म्यामको याद सँगै भेडेटार घुमेर आएको दिनबाट सिम्रनम्याम म बाट टाढा हुँदै गईरहेको फिल हुन्थ्यो। त्यसको एक हप्ता पछि बिहान अचानक फोन करायो हेरेको उनकै कल आएको रहेछ हत्तपत्त उठाए “ सर भरेको नाइट छ मेरो सामानहरु पनि छ मलाई बसपार्कसम्म छोडिदिनु ल” उताबाट हेल्लो पनि नभनी एक सासमा कुरा सकिन, “अचानक म्याम, किन ?” प्रश्न तेस्र्याएँ “ म नयाँ जीन्दगी जीउन काठमाण्डौ जाँदैछु, प्लिज डन्ट आस्क मि अदर डब्लु एच कोईश्चन” अलिक रिसउठ्दो पाराले उत्तर दिएकी थिईन। तीन बजे उनको गेटमा पुगे पुरै सेतो कलरको कुर्ता सुरुवालमा थिईन, सादा कता कता ‘अञ्जना म्याम’ को झल्को दिमागमा घुम्यो। दाइने हातमा एउटा अलि ठुलो कालो ब्याग झुण्डाएकि थिईन अनि पछाडि त्यहि ‘चेल्सी’ लेखेको उनको फेवरेट ब्याग भिरेकी थिईन। दुवैजना मौन भएर नै बसपार्क पुग्यौ मानौ कुनै अन्जान पात्र झैँ बाइकबाट उत्रेर चिया पिउने इशारा गरिन उनले नै, अनि मगाईन ‘फिका चिया’ मन कुडि़ईरहेको थियो जिब्रोमा चियाको गुलियोको मिठास भएपनि। “तपाइँको नयाँ जीन्दगीको सुभकामना” सकिन आँटेको चियाको अन्तिम घुट्कोसँगै मौनता भंग गरे “यहाँ बसुन्जेलको तपाइँको साथ र सहयोगको लागि धन्यबाद छ सर” जवाफ फर्काईन बसमा चढेर अन्तिम पटक बाइबाइको हात हल्लाइन उत्तरमा बनावटी हाँसोसहित हात हल्लाएँ। मुटु ढक्क फुल्यो, लाग्दैथ्यो कुनै एउटा नाम नभएको सम्बन्धलाई घाटमा चितामा राखेर दागबत्ती दिदैछु्र भोलिपल्ट पुगिन पुगिनन बुझ्न फोन गरे तर लागेंन र त्यो दिनबाट कहिले फोन लागेन त्यो नम्बरमा।

बिहान उठ्दा सात बजेको रहेछ, छ बजेको अलरामले जति कराएपनि ब्युझ्याउँन सकेनछ, राति सिम्रन म्यामलाई सम्झदै कति बजे निदाए पत्तै भएँन। नित्य कर्म सकेर चिया पिउन छेउको क्याफे तिर लागेँ। “साहुजी आज मलाई फिका चिया दिनु ल” धेरैपछि कताकता चियाबाटै भएपनि सिम्रन म्यामसँग जोडिन मन लाग्यो रातिको याद ले र साहुजीलाई आदेस दिएँ। चियाको चुस्कीसँगै टेबलमा रहेको चार पाँच दिन अघिको अलि च्यातिएको रहेछ पत्रिका पल्टाउन थालेँ। तेश्रो पन्नाको तलतिर सिमरन म्यामको तस्बिर देखेर झसंग भए तस्बिर भन्दा मुनिको भाग च्यातिएको थियो, के लेखिएको थियो थाहा हुन पाएन भित्रै देखि मनमा पहिरो गयो, ‘समबेदना’ त हैन? फेरी नियालेर हेरे तस्बिर उनकै थियो हातखुट्टा कामेझैँ हुन थाल्यो, राम सरलाई फोन गर्न मोबाइल हेरे स्विच अफ नै रहेछ राति देखि नै, अन गरे शुरुमा नै त्यो सुशेलीवाला म्यासेज टोन बज्यो, म्यासेज आएको रहेछ काठमाण्डौको पोष्टपेड नम्बरबाट सायद राति कल पनि यहिबाट आएको थियो। म्यासेज यस्तो थियो “ सर म सिम्रन हिजो राति फोन काटियो फेरी गर्दा स्विच अफ थियो, मलाई डिभी परेको छ म बचन पुरा गर्ने मान्छे परे बि रेडी फर फिक्का चिया त्यो पनि जीबनभरको लागि, म्यासेज पढेपछि कल ब्याक गर्नुहोला यहि नम्बरमा” केहि सोच्नै नपाई राम सरको फोन आयो उठाए “ हेलो सर! अस्ति दुइचार दिन अघिको पत्रिका हेर्नु त त्यो सिम्रन थिई नि उसलाई डिभी परेर बधाई छापिएको छ, तपाईलाई भन्छु भन्दै थिए बिर्सिएँछु अहिले सम्झिएर फोन गरेको” केहि नबोली पछि कल गर्छु भनेर फोन काटिदिएँ, भूकम्प गएजस्तो भयो केहि सोच्नै सकिरहेको छुैन आधा भईसकेको फिका चियाको कप भित्र सिम्रनको छाँया देख्छु अनि आफ्नो साहिली औलामा पन्ध्रदिन अघिको इन्गेजमेन्टको औँठी।

निरज पौड्याल