काठमाण्डौ / नेपाल टेलिकमको सिमकार्डबाट अब विदेश गएको बेलामा पनि इन्टरनेट चलाउन पाइने भएको छ।

टेलिकमले पोस्टपेड ग्राहकका लागि विभिन्न ८७ देशका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराउने भएको हो। टेलिकमले यसअघि पोस्टपेड र प्रिपेडका ग्राहकलाई अन्तर्राष्ट्रिय रोमिङमा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्रै दिइरहेकोमा अब भने डेटा रोमिङ सेवा पनि दिन लागेको हो।

टेलिकमले शनिबारदेखि नै छिमेकी देश भारतमा अन्तर्राष्ट्रिय डेटा रोमिङ सेवा दिन सुरु गरेको जनाएको छ। डेटा रोमिङ सुविधाबाट अब भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने भएको छ।

शनिबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।