काठमाण्डौ / काठमाण्डौमा आज सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन्।

निजी क्षेत्रको सुन्दर यातायातले पाँचवटा रुटमा सेवा शुरु गर्न लागेको हो। पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ।  

बसको संख्या र रुट थप्ने तयारी पनि भइरहेको सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ। दिउँसो भृकुटीमण्डपमा विशेष कार्यक्रम गरेर बस सञ्चालन गर्ने तयारी छ। 

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ। ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनुभयो।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ। बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ। कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ।

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ। सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ।

त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ। साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ।

कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन्। यात्रुहरुले मोवाइलबाट ‘क्यूआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।