(धेरै अघि कमरेड प्रदीप नेपालले संस्मरण लेख्न सुझाव दिनुभएको थियो । पछि पनि धेरैले त्यही सुझाव दोहोर्‍याउनु भयो । लोकप्रिय भारतीय नेपाली कवि मनप्रसाद सुब्बाले पनि केही महीना अघि त्यसै भन्नुभयो । त्यसको कुनै औचित्य र मूल्य छैन भन्ने लाग्थ्यो। तर सहाराको नाममा भाइरल बनाइएको र बेलबारीमा तरंग ल्याएको विषयमा स्पष्टीकरण समेत हुने गरेर मेरो विश्वास र ज्ञानको आधारमा लेखेको छु यो संस्मरण । – हर्कमान तामाङ)

निकै दिन अघिको कुरा। लोहन्द्रा खोलामा कसैको मलामी गएको थिएँ। एकजना मित्रले नजिक आएर नमस्ते गर्दै भन्नुभयो, “होइन, लालभित्तिमा हाम्रा दुइजना निर्वाचित माननीय हुनुहुन्थ्यो। एकजनाले त झुण्डिएर आत्महत्या गर्नुभयो। तपाईं पनि त्यसै गर्नुहुन्छ कि ?” यस्तो अप्रत्याशित प्रश्नले अलमल्लमा परें। एक छिन त के भन्नु न के भन्नुभयो। उनले मनका साँचा कुरा नै बोले भन्ने लाग्यो। गम्भीर भएँ। रिसाइनँ, चित्त पनि दुखेन। तर मुखमा जवाफ आइहाल्यो, “ए हजुर, म त अर्कै धातुले बनेको मानिस पो हूँ। त्यसो त कसरी गर्नसक्छु र? बेलामा संकेत मात्र पाएको भए वहाँलाई पनि बचाउने थिएँ। सिंगो नेपाली समाजको बद्नाम हुनसक्ने दुर्घट्ना हो यो। बेलामा अलिकति संकेत मात्र पाएको भए यस्तो दुर्घट्ना अवश्य पनि हुन दिने थिइनँ!”

राष्ट्रिय पञ्चायत सदस्य कर्णबहादुर धिमाल अति असहाय, अभावग्रस्त र रोगग्रस्त अवस्थामा हुनुभएको थाहा पाएँ। भेटें। केही मित्रहरुलाई जानकारी गराएँ। छिटै आवश्यक सहयोग जुर्‍यो। आफुसमेत भएर अस्पताल लगियो। खास जटिलता नभएकाले छिटै ठीक पनि हुनुभयो। उहाँको नियमित रेखदेख र सहयोगका लागि नातेदार कविन्द्र धिमालसंग अनुरोध गरेंं। हर्नियाको (होला) एउटा सामान्य अपरेशन बाँकी राखेर घर फिर्नुभयो। खुशी हुनुभएको थियो। दैनिक भेट्घाट् गर्न र हौसला दिइरहन सकिएन। कहिलेकाहीँ घर पुग्दा ताला झुण्डिरहेको हुन्थ्यो। एक बिहान अचानक आत्महत्याको खबर सुन्दा हुनसम्मको दुःख लाग्यो।

हलै नेकपाको वार्ड कमिटिद्वारा आयोजित पत्रकार सम्मेलनको नाममा सम्पन्न गरिएको जनसभामा पार्र्टीका जिल्ला तहसम्मका ओहदाका विभिन्न वक्ताहरुका भाषणहरु, स्थानीय कमिटिको अध्यक्षको अध्यक्षतामा संघर्ष समिति गठन भएको र त्यसपछिका विविध चर्चाहरु, जुलुस, तुरुन्त पार्टीबाट निष्काशनको कारवाही, कालो मोसो र जुत्ताको माला लगाई बजार घुमाउने लगायतका मागसहितका अनेक अनेक कुरा सन्ने अवसर प्राप्त भयोे।

यसबेलाका सबै पत्रपत्रिका, सामाजिक सञ्जाल, रेडियो र धेरै मुखहरुबाट “संस्थाको जग्गा बेची खाने ठूलो अपराधी”को रुपमा चित्रित गर्दै प्रचारित भएको छु। धेरै मित्रहरु छक्क परेका छन्। कोही स्तव्ध छन्। शुभचिन्तकहरुका जिज्ञासाले हैरान बनाएको छ। कमजोर मानसिकता भए यसबेलासम्म कि त आत्महत्या गरिसकेका हुन्थे कि त ठाउँ छाडेर भागिसकेका हुने थिए। सम्पूर्ण प्रचार र हल्लाले पागल बन्लान् भन्ने डरले होला छोरोले इन्टरनेटको लाइन पनि कटायो। निरंकुश पञ्चायत शासनले दिएको भन्दा धेरै गुणा ठूलो मानसिक यातना अनुभव भयो। त्यस कालको उत्तरार्धमा भगवती स्कूलमा लगनशीलतासाथ कार्यरत थिएँ। भौतिक पूर्वाधार थिएन। आयस्रोत पनि थिएन। विद्यालयको अवस्था सुधार्ने हिम्मत साथ मिहिनेतपूर्वक काम गर्ने प्रयत्न थियो। तर पटक पटक प्रहरी थानालाई २४ घण्टाभित्र पक्रेर ल्याउन “माथि”बाट आदेश आउने गरेको रहेछ। निर्दोष ठहर गरेको रिपोर्ट गर्दा रहेछन्। “चौबिसै घण्टा कडा निगरानीमा रहिरहेको व्यक्ति” हो। शैक्षिक बाहेक अरु कुनै गतिविधि गरेको नदेखिएको। बिहानदेखि बेलुकैसम्म विद्यालयमै र राती पनि घरमा मेरै छोराछोरी समेतलाई ट्यूशन पढाउँछ। दिनभरिको कामले भुतुक्क भएर सुत्छ। गलत रिपोर्टको आधारमा गरिएको निर्णय पनि गलतै हुन्छ। परिणामले पनि व्यवस्थाको भलो गर्दैन।” दुइ तीन कार्यकालका प्रहरी इञ्चार्जहरुले यस्तै यस्तै आशयको जाहेरी गर्ने गरेको सुन्ने गर्थें।

पछिल्लो कालमा भने एकजना इन्चार्जले रामराजा प्रसादको बमकाण्डमा फँसाउन गरेको षडयन्त्र पनि खुलस्त भयो र विफल भयो। त्यसपछि पनि कुनै कुनै विद्यार्थी र शिक्षक समेतलाई थानामा बोलाएर व्यवस्था विरोधी कामका लागि उक्साउूने गरेको वयान गराएर पक्राउ गर्ने आधार समेत बनाएको कुरा तिनै विद्यार्थी र शिक्षकबाट थाहा पाइयो। तर आरोपहरु नटिक्ने र प्रमाणित हुन नसक्ने, प्रतिउत्पादक हुने ठानेर होला, शासकहरुका कौशल फेरिए। कहिले वर्षदिन सम्म तलब नदिने, कहिले पहाडका विभिन्न विद्यालयमा ५–७ ग्रेडसम्म बढी तलब दिन्छौं, हाम्रो स्कूलमा जाऊँ भनेर फकाउन मान्छे पठाउने, कहिले राजीनामा दिए मात्र एस.एल.सी.का परीक्षार्थीहरुको प्रवेशपत्र दिने भनेर विद्यार्थी र अभिभावकहरुको दवाव सिर्जना गर्ने प्रयास गर्ने। कति गर्दा पनि पार नलागेपछि २०४५ सालमा एक रात संचालक समितिको आकस्मिक बैठक राखेर खारेजीको निर्णय भएको थियो। सदस्य सचिवको हैसियतले मैलै नै हाँसी हाँसी आफू र सहकर्मी गुरु बराल उपरको कारवाहीको निर्णय लेखेको थिएँ। तत्कालीन नेकपा (माले)को भित्री व्यवस्थापनबाट म शिक्षकको रुपमा बेलबारी आएको थिएँ। अहिले सम्झना भइरहेछ, बेलबारीमा शिक्षण गर्नथालेको केही दिनमै तत्कालीन पार्टी नेतृत्वबाट बेलबारी छाडेर अन्यत्रै जानुपर्ने निर्देशन पनि आएको थियो। अस्वीकार गरें। त्यसबेला ती भूमिगत नेताले “तपाईं बेलबारीमा टिक्नसक्नु हुन्न” भनेको कुराको पनि खास खास बेला सम्झना हुन्छ र झस्किन्छु।

धेरै समय बितेको छ। अल्जाइमर्सले बिर्सने क्रमलाई तीव्रता दिन थालेको छ। त्यसैले सम्झन सकेजति र अनुभूत गरेका कुराहरु यहाँ स्मरण गर्ने प्रयत्न गरेको छु। मलामी जाँदाको अवस्थामा ती मित्रले सुइँको पाएरै त्यस्तो अप्रिय प्रश्न गरेको त होइन? कता कता मनले भन्छ, यस्तो पनि संयोग हुने रहेछ! तर जसो भए पनि पक्कै रमाइलोका लागि हँसीमजाक गरेका भने होइनन्। उनै जानून्। तर माले कालको जस्तै सुलसुले प्रचार शैली चाहिँ मजाले प्रयोग भएछ। जिम्मेवार व्यक्तिले भनेका कुरालाई विश्वास किन नगर्ने? हामीसंग वास्तविकताको गहिराइमा प्रवेश गर्ने न संस्कार छ, न त चासो र फुर्सद नै। कहिले पनि सहारा नटेकेका कमरेड नन्दराज गिरीलाई समेत मुछेर पटक पटकका बैठकमा आउने गरेको वयानको श्रव्यदृश्य समेत प्रस्तुत गरिएको छ। जब कि सहाराको बैठकै भएको छैन। वास्तवमा वहाँको नाममा त नेकपाले गौरव गर्नुपर्ने हो। झापा संघर्षकाल, कोकेकाल, मालेकाल, एमालेकाल र हाल नेकपाकालमा समेत निरन्तर सक्रिय र सकरात्मक रहनु भएको कमरेड हुनुहुन्छ वहाँ। पद र प्रतिष्ठाको भोक कहिल्यै नजागेको। नेतृत्वलाई खुशी बनाउने चरित्र नभएको। यति लामो अवधिमा व्यक्तिगत लाभको लागि कहिले केही नसोंचेको। व्यक्तिगत फायदाको खोजी गर्दै कुनै पनि राजनैतिक पसलतिर नदौडेको। त्यसबेलाका ठूला ठूला नेताहरु समेत कोही दरवार पसेका, कसैले आफ्नै पार्टी , खोलेका छन्। कोही चारैतिर दौडिएका छन्। खोज्ने हो भने पार्टीभित्र निरन्तर र सक्रिय रहेका त्यस बेलाका कार्यकर्ता अहिले कति होलान्? त्याग र तपस्याको कसले कहिले मूल्याङ्क्कन गर्ने होला? यस्ता थुप्रै तथ्यहरु छन् जसले वर्तमान नेकपाको असली अवस्था के छ र के हो भन्ने प्रमाणित गर्दछन्।

प्रतिनिधि सभा सदस्य रहेको शुरुको बेला मन महत्वाकांक्षी बन्यो। कुने दिन मलाई पनि पार्टीले खास बाम गर्ने अवसर दिनेछ भन्ने विश्वास थियो। म लोक कल्याणको क्षेत्र रोज्नेछु। लोक कल्याणकारी नीतिलाई समृद्ध बनाउन सहयोग पुर्‍याउनेछु। यस विचारले प्रशस्त अध्ययनमा जुटें। पश्चिमी मुलुकहरुका विधिविधान, सिद्धान्त र अनुभवहरु प्नि बटुल्ने प्रयास गरें। ती मुलुकहरुका भ्रमणमा जाँदा प्रत्यक्ष हेर्ने र साक्षात्कार गर्नेसम्मको प्रयास गरें। आफ्नो धरातलमै सानो कामको थालनी गरेर व्यवहारिक अनुभव बटुल्ने उद्देश्य बनाएँ। त्यसैको परिणाम हो सहारा परिवारको स्थापना। नमूना गाउँ (कम्युनिस्टहरुको भाषामा कम्युन) बनाउने कल्पना गरियो। १०० अनाथहरुको व्यवस्थापन गरियो। तत्कालका लागि कुनै दातृसंस्थाको सहयोगमा काम थाल्ने, क्रमशः आत्मनिर्भरता विकास गर्दै जाने धारणा थियो। दीर्घकालसम्म विदेशीहरुको आर्थिक सहयोग भइरहन सक्दैन। निश्चित अवधिको लागि मात्र हुनु नितान्त स्वाभाविक हो। स्थानीय समुदायसंग क्षमता विकास भइसकेको थिएन। आफ्नो दृष्टिकोण नेतृत्वलाई नबुझाउनु, कामले नै सबै बुझाउनेछ भन्ने धारणा बनाउनु मेरो त्रुटि भयो। नेतृत्वलाई खुशी बनाउने र उद्देश्य पूरा गर्ने शैली, शीप र क्षमताको मसंग सँधै नितान्त कमी भयो। यसले पार्टी नेतृत्व र मेरो बीच ठूलो दूरी बनाएछ भन्ने कुरा धेरै पछि मात्र थाहा पाएँ। जस्तै संकट्मा पनि निष्ठालाई सँधै बचाएर राखियो। जिम्मेवारीका कामहरु बुताले भ्याउन्जेल गरियो। एकपटक एउटै व्यक्ति सांसद र जिल्लाको नेतृत्वमा रहन नहुने निर्णय आयो। खुशी भएर तुरुन्तै जिम्मेवारी हस्तान्तरण गरें। किनकि मलाई द्वैध जिम्मेवारीले मलाई गाह्रो भइरहेको थियो। पछि केही साथीहरुले भने, तिमीलाई हटाउन नै त्यस्तो निर्णय गरिएको हो। भनेपछि मात्र छक्क परें। सपना हत्याकाण्डको छानबिन समितिमा मलाई समावेश गरिएन। फेरि छक्क परें। हिजआज सम्झिन्छु, के भएको होला? इलाममा पार्टीले विदाइ गर्दा यो मेरो छाप्रो र सानो सुन्तला बगैंचा पनि पार्टीलाई जिम्मा लगाएर आएको हूँ। धेरै वर्षपछि मात्र थाहा भयो, पार्टीको तर्फबाट मेरो सम्पत्ति जिम्मा लिने कमरेड त गुप्तचर विभागको कर्मचारी पो रहेछ! बेलबारीमा पनि त झण्डैै सुकुम्बासी भएको! तत्कालीन शिक्षा मन्त्री कमरेड दीनानाथ शर्माले बचाउनुभयो। नत्र कुनै पनि दिन बसेको घर र जग्गा छडिदिनु भन्ने अदालतको आदेश आउने रहेछ! धन्यवाद कमरेड दीनानाथ शर्मा! धन्यवाद कमरेड भीम आचार्य र कमरेड गोपी आछामी! तपाईहरुले मलाई उठिबास हुनुबाट बचाउनु भयो!

माओवादी जनयुद्ध उत्कर्षमा पुग्दा तत्कालीन प्रशासनले ठहर गरेको ठीकै थियो। त्यसबेला धेरै मानिसहरु दिनभरि एमाले र राती माओवादी बन्छन् भन्थे। सेना वा प्रहरीबाट पक्राउ परेपछि सांसदको हैसियतले छुटाउनका लागि पक्का एमाले हो, माओवादी हुँदै होइन। तु छुटाउनुपर्‍यो भन्दै पार्टीको दबाव आउने गर्दथ्यो। पृतनापति, डीआइजी, प्रजिअ आदिसंग गलत सूचनाको आधारमा पक्राउ गरियो। यसरी तपाईहरुले नै मानिसहरुलाई जबरजस्त माओवादी बनाइरहनु भएको छ भन्ने दावी गर्दा माइन्यूट बुकसहित कतिपय गतिविधिकोे प्रमाणै समेत प्रस्तुत हुन्थ्यो। झुटो दाबी गरेर लज्जित हुनु परे पनि सुरक्षाको अभावमा वाध्यतावश भएको हुनसक्ने भन्दै धेरै अनुरोध गरेर, कुनै किसिमले विश्वास दिलाएर आफुले जिम्मा लिएर फेरि गतिविधिमा लाग्न नदिने आश्वस्त गरेर धेरैलाई छुटाउनु परेको थियो। यो किन उल्लेख गर्दैछु भने तत्कालीन एमालेका पंक्तिभित्र प्रशस्त द्वैध चरित्रका मानिसहरुको उपस्थिति थियो। बैठकमा भएका निर्णयहरु तुरुन्तै माओवादीसम्म पुग्ने गर्दथ्यो। साँचो हो। इमान्दारी र निष्ठा कमजोर हुँदा यस्तो हुनु स्वाभाविक हो। यस्तो चरित्रले पार्टीलाई बलियो बनाउँदैन। अर्कोतिर गाउँ गाउँका इमान्दार र प्रभावशाली साथीहरुलाई तोकिएको चन्दा साथै एमालेबाट राजीनामा गरेको विज्ञप्ति नआए भौतिक सफाया समेत कुनै पनि किसिमको कारवाही भोग्न तयार रहनुपर्ने भन्ने धम्की आउने गरेको थियो। दुःख लाग्ने अप्रिय घट्नाहरु पनि भइरहेका थिए। पार्टीका नेतृत्वलाई जानकारी गराउँदा जे जसो गर्दा बाँच्न सकिन्छ त्यसै गर्नू भन्ने निर्देशन हुन्थ्यो। धेरैले निकै ठूलाठूला जोखिम मोल्नुपरेको थियो।

संकेतहरु सहारामा पनि प्रशस्त देखिन थालेको थियो। सानो भनिएको बालक पनि ठूलो कुरा गर्ने भइसकेको थियो। कुनै न कुनै दिन ठूलो रकम चन्दाको माग आउनसक्ने अवस्था थियो। तर उनीहरुको माग पूरा गर्न सकिने सम्भावना थिएन।

दुइ भान्से र दुइ सफाइ कर्मचारी मात्र राख्नू भन्ने दातृसंस्थाको सुझाव थियो। तर हामीसंग धेरै कर्मचारी थिए। कसैलाई निकाल्न सकिने अवस्था थिएन। पटक पटकको उनीहरुको सुझाव कार्यान्वयन गर्न सकिएन। बिस्तारैसंग पैसा दिन ढिलाइ गर्नथाल्यो। कुनै बेला त चार महिनामा मात्र बल्लतल्ल एक महिनाको पैसा दिन पनि हिच्किचाउन थाल्यो।

यस्तो अवस्थामा कार्यक्रम बन्द गर्नुको विकल्प थिएन।

नेत्रहीन विद्यार्थीहरुलाई कवीर मा.वि.का प्रधानाध्यापक र नेत्रहीन संघका अध्यक्षको अनुरोधमा एक वर्षभित्रै उनीहरुको आफ्नै छात्रवास निर्माण गरी स्थानान्तरण गरिने मौखिक शर्तमा आश्रय दिइयोे। तर वर्षौ बित्दा पनि छात्रवास निर्माण हुन सकेन। नेत्रहीन संघले त उल्टै सबै भौतिक सम्पत्ति प्राप्त गर्नका लागि चलखेल पो गर्नथाल्यो। संघका केन्द्रीय अध्यक्षको नेतृत्वमा दवाव पो आउनथाल्यो । अर्कोतिर जीर्ण भवन भत्केर ठूलो दुर्घटना हुनसक्ने सम्भावना पनि बढ्यो। कदाचित दुर्घट्ना भइहाले को जिम्मेवार हुने? विवेकको खडेरी त स्थायी विशेषता हुँदै हो। निश्चय नै सहारालाई नै त्यसको दोष आउने पक्का थियो। यस्तो जोखिमको प्रबल सम्भावना लाई नजरअन्दाज गर्न सकिएन। वास्तवमा सहाराको कुनै दायित्व छैन भनेर पन्छिन पाइने अवस्था रहेन। धेरैजसो मानिस आफ्नो वकील र अरुका न्यायाधीशको भूमिका निर्वाह गर्ने चरित्रका हुन्छन्। गम्भीर सांस्कृतिक पछौटेपन छ। यसकारण यहाँ विवेक प्रयोग हुनसक्ने वातावरण निर्माण हुन सकेको छैन। दलबलको दबावबाट नै जे पनि गर्न सकिन्छ भन्ने मान्यता स्थापित छ। नेत्रहीनहरुको छात्रवास निर्माण गर्न कतै, कुनै निकाय वा व्यक्तिबाट सहयोग प्राप्त हुन सक्ने सम्भावना पनि देखिएन। ज्ञान महायज्ञमा मात्र सकेसम्म दान दिने परम्परा छ। यसर्थ कसैको मुख नताकी छात्रवासको लागि सहाराले नै यथाशीघ्र जमीनको व्यवस्था गर्नु अति नै जरुरी भइसकेको थियो। अर्कोतिर उत्कृष्ट शैक्षिक गतिविधि भए तापनि स्वयं विद्यालयको नाममा एक टुक्रा जमीन पनि थिएन। यस्तो अवस्थामा छात्रवास निर्माणको लागि सानो टुक्रा भए पनि विद्यालयलाई जमीन उपलब्ध गराउने जिम्मेवारी पनि सहाराकै हो भन्ने जबरजस्त बुझाईलाइ साकार बनाउनु पर्ने वाध्यता थियोे। अतः छात्रवासको लागि विद्यालयको नाममा घडेरी खरिद गरियो। त्यही घडेरीमा निर्मित भवनमा अहिले नेत्रहीन विद्यार्थीहरुको छात्रवास सञ्चालित भइरहेको छ।

आश्चर्यको कुरा यस बेलासम्म यी सम्पूर्ण समस्याका विषयहरुमा सबै पक्ष, स्थानीय समुदाय, समाजसेवी र तत्कालीन एमाले र वर्तमान नेकपा कसैको ध्यानाकर्षण भएन।

केही वर्ष अघि सहारा परिवारको सम्पूर्ण भौतिक सम्पत्ति कवीर मा.वि.को नाउँमा लैजाने उद्देश्यले बेलबारीका एमाले नेतृत्व लगायत बुद्धिजीविहरुको एक बैठकमा लामो छलफल समेत गरिएको थियो। तर त्यसपछि यो विषयमा कुनै चर्चा भएन। कसैले थप चासो र सक्रियता लिएन। वर्षौंसम्म केही ठोस कार्यक्रम संचालन नहुँदा सहारा नशालु पदार्थ सेवन गर्नेहरु र कारोबार गर्नेहरुको अखाडा बन्यो। बाटो हिँड्नु पनि डरलाग्दो बनेको गुनासो व्यापक हुनथाल्यो। वरिपरिका समुदायले दवाव दिनथाले।

यसैकारण केही न केही गर्नुपर्ने वाध्यताको अवस्था सिर्जना भयो। पूर्व गाविस अध्यक्ष, शालीन व्यक्तित्व भएको, इमान्दार समाजसेवी शिवप्रसाद बराललाई सोंच्न र रचनात्मक कामहरु सन्धान गर्ने अनुरोध गरियो। यसकारण कि उमेर र शारीरिक अवस्थाले मलाई निस्क्रिय बनाएको छ। हिँडडुल धेरै कम भएको छ। विवाहको निम्तो र मलामी चाहिँ जसरी पनि जाने प्रयत्न गरिरहेको छु।

समाजको मूल्याङ्कन के छ जान्दिनँ। तर मेरो अनुभव र ज्ञानले भन्छ, धैर्य र सहनशीलताका धनी हुन् शिव बराल। सामाजिक जीवनको राम्रो पर्यवेक्षक र विश्लेषक पनि हुन्। सकरात्मक दृष्टिकोण राख्ने, उत्तम सल्लाह दिने र सक्दो सहयोग गर्ने गुण भए पनि कतिपयले वहाँलाई मन पराउँदैनन्। यसलाई स्वाभाविक मान्नुपर्छ। कोही पनि सबैको प्रियपात्र बन्न सक्दैन। कुनै हितैषीकोमा एक छाक खाना खाएकैमा वहाँको आलोचना भएको पनि सुनेको छु। मेरो दृष्टिमा वहाँ कम्युनिस्ट संस्कृतिभित्र निकै राम्ररी घुलमिल, सम्मिलित र रुपान्तरित हुन सकेका, सर्वहारावादी चरित्र ग्रहण गरेका, पार्टीका नीति र कार्यक्रमको गहिराइभित्र प्रवेश गर्ने बानी र तत्परता भएका, सोही अनुसारको चरित्र र सरल जीवनशैली बनाएका अति नै भरपर्दो व्यक्ति हुन्। मलाई वहाँमाथि भूमिगत कालदेखि आजको मितिसम्म विश्वास छ। वहाँ र ममा एउटा समानता पनि छ, धेरै सहने अनि कम बोल्ने। वहाँ पनि आफ्नो क्षमता देखाएर आफुलाई बेच्न नजान्ने, नचाहने। म पनि ठीक त्यस्तै। त्यसैले पछि पर्‍यौं हामी र पार्टीको उपल्लो तहबाट समेत हेपियौं पनि।

शिवजीलाई सहारालाई अघि बढाउँ भनें। तपाईंकै अध्यक्षतामा नया कार्यक्रमहरु तर्जुमा गरौं भनें। युवा लक्षित कार्यक्रमहरु गरौं। म सँधै साथ दिनेछु भनेर वहाँसंग अनुरोध गरें। वहाँले स्वीकार गर्नुभयो। अनुभव, ज्ञान र सहयोगको कमीले लामो समय वहाँ अल्मलिनु भयो। नवीकरण कार्यका लागि युवा नेता कृष्ण गुरुङले दश हजार रुपियाँ सहयोग पनि गर्नुभयो। यस्तै बेलामा फन पार्कको योजनाको कुरा सुनें। व्याङ्ककको एउटा फन पार्क हेरेपछि मेरो मस्तिष्क रुमलिएको थियो। यहाँ प्रस्तावित योजना अलि फरक किसिमको भए पनि त्यो भन्दा पनि उत्कृष्ट हो कि भन्ने ठानें। यो योजनासंग सहकार्य किन नगर्ने? बेलबारीको एउटा भव्य आकर्षण बन्नेछ। त्यसो भए पर्यटन तथा व्यापार प्रवद्र्धन हुनेछ। रोजगारीका अवसरहरु सिर्जनाका साथै बेलबारीको राम्रो परिचय पनि स्थापित हुनेछ भन्ने मेरो छोटो बुद्धिले भन्यो। फनपार्कसंग सम्बन्धित महानुभावहरुसंग सहकार्यको प्रस्ताव लैजाने। त्यो सहकार्यले उद्यमशीलता र रोजगारी पनि सिर्जना गर्नसकोस्। यसै उद्देश्य साथ अघि बढ्ने परिकल्पना गरियो। कुराकानीको परिणाम सकरात्मक रह्यो। त्यो सहकार्यबाट ४ वटा कार्यक्रम सम्पन्न गर्ने समझदारी बन्यो। धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्नका लागि तयारी पोशाक उद्योग, नेपाली ढाका उद्योग, सेक्युरिटी तालिम र कृषिका कार्यक्रमहरु गर्ने सहमति बन्यो। २५० बाट शुरु गरेर १००० जना सम्मलाई रोजगारी दिन सकिन्छ भन्ने अनुमान गरियो। त्यहाँ बसोबास गर्ने परिवारहरुलाई सबै अवसरहरुमा प्राथमिकता दिने सहमति बन्यो। उनीहरुको आर्थिक र सामाजिक जीवनको स्तर माथि उठाउने ध्येयले उक्त कार्ययोजना बनाइयो। त्यसलाई सफल बनाउन धितोको रुपमा जमीन राख्ने बाहेक अरु विकल्प पनि थिएन। समयमै सार्वजनिक जानकारी गराए पछि पार्टी, स्थानीय समुदाय लगायत कतैबाट पनि आलोचना र विरोध नभएपछि कार्यक्रम अघि बढाउने प्रयत्न भएको हो। तर अब त्यो सम्भव भएन। लाग्छ, बेलबारी पछि पर्‍यो।

चट्याङ परेजस्तो अकस्मात विरोधका आवाजहरु सुनिए पछि बेलबारी नगर कमिटि,नेकपा बाट गठित छानबिन समितिसंग मैले माग प्रस्तुत गरेको थिएँ : यदि भए गरेका काम कुराहरु अपराधपूर्ण हुन् भने तिनको जिम्मेवारी म लिन्छु। दोष हो भने सबै मेरो दोष हो। यसबापत जेल नै बस्नुपर्ने भए पनि खुशी साथ बस्नेछु। ह्योजु बन्नुपर्ने भए पनि, जुत्ताको माला लाउनुपर्ने भए पनि म अहिले नै तयार छु! फेरि पनि भन्छु, म तयार छु!

कमजोरी कहाँ छ ?

पार्टी खुला भएपछि राजनैतिक प्रशिक्षणको कमी भयो। तीव्र गुणात्मक ह्रास भयो। निम्न पूँजीवादी चरित्र र चिन्तनले मलजल पायो। हुँदा हुँदा पार्टी भित्र पैसा नहुनेहरुको भूमिका लोप हुँदै गयो। पुरानो समाजका अवशेषहरु, प्रभावहरु, रीतिरिवाजहरु र आनीबानी जस्ताका तस्तै रहे। तिनलाई परिवर्तन गरी कम्युनिस्ट संस्कृति निर्माण गर्नतिर ध्यान पुग्दै पुगेन। पैसा, चुनाव, पद र प्रतिष्ठामा मात्र ध्यान केन्द्रित भयो। पार्टीभित्र स्वार्थलोलुपता, व्यक्तिवाद, पूर्वाग्रह, गुट् संघर्ष र स्वेच्छाचारिता मौलाएको छ। सहकारी संस्थाले पनि आफ्नो सदस्यको हित हेर्छ। आजको कम्युनिस्ट पार्टीले त गुट्को मात्र हित हेरेको देखिन्छ। वास्तविकता त के हो भने गुट्भन्दा माथि उठेर पनि पार्टीका कार्यकर्ताहरुको मात्र हित हेर्दछ भने पनि त्यो कम्युनिस्ट पार्टी हुन सक्दैन। पार्टीभन्दा बाहिर भएकै कारणले देशका योग्यतम व्यक्तिहरुको योग्यतापूर्ण सेवाबाट देश र जनतालाई विमुख पार्नु कदापि न्यायोचित हुन सक्दैन। विभिन्न विश्वविद्यालयहरु तथा सरकारी संस्थाहरुमा गरिने नियुक्तिहरुले यस्तो देखाएको छ। स्वाभिमानी व्यक्तिहरुले सेवा र चाकरी गर्दैनन्। खास खास बेलामा खास खास व्यक्तिहरु माथि सिद्धान्तहीन र सुनियोजित प्रहार गरिन्छ। सहाराको नाममा म तथा शिवप्रसाद बरालमाथि गरिएको प्रहार एउटा प्रतिनिधि घट्ना मात्र हो।

हुन त गौरवमय पार्टी भनेर भनिए पनि विगतका घट्नाहरुलाई केलाउँदा मन खुशी हुन सक्दैन। पार्टीको हितको लागि, राष्ट्र र जनताको साथै सम्पूर्ण मानव जातिको मुक्तिका लागि धेरै बलिदान भएको छ। सुखानीमा हत्या गरिएका कमरडेहरु रामनाथ दाहाल र भोगेन राजवंशीको बलिदानको अवमूल्यन गर्दै उनीहरुलाई सहीद मान्नुहुन्न भन्नेहरु पनि पार्टीका नेतृत्व भित्रै थिए। चारु मजुमदारको लाइनलाई जस्ताको तस्तै अपनाउनु हुँदैन भन्ने दृष्टिकोण बनाउनु नै उनीहरुको दोष थियो। पुष्पलाललाई गद्दार घोषणा गरिएकै हो। बेलबारीको पार्टी अफिसभित्र प्रवेश गर्दा अझ पनि संस्थापक नेता पुष्पलाललाई अपमान भइरहेको भान हुन्छ। पार्टीभित्रको मर्यादाक्रमको बारेमा भएको हालैको विवाद र बहसलाई नियाल्दा वरियताको सम्बन्धमा पार्टीको सबै तह मर्यादाक्रमको बारेमा सचेत देखिन्छन्। तर पार्टीका संस्थापक नेतालाई बेलबारीले मदन भण्डारी, मनमोहन अधिकारी र जीवराज आश्रित पछिको स्थान दिइएको छ। वर्षाैदेखिको यो व्यवहारको बारेमा किन कसैको ध्यान जाँदैन? नेकपा, बेलबारीले सर्वोच्च नेता माथि नै यस्तो व्यवहार गर्दछ भने हामीप्रति गरिएको व्यवहार त अति नै नगण्य भयो। होइन र? जे होस्, यो दुनियाँमा हामी मात्र पीडित छैनौं भन्ने कुरा शिवप्रसाद बराललाई भन्न चाहन्छु “हे प्रभु! मलाई मेरा साथीहरुबाट बचाउनुहोस् !” भन्ने भनाइले प्रमाणित गर्दछ।