काठमाण्डौ / भक्तपुरको तेखापुखुमा रहेको मेधा माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ देशभरकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वार्षिक मूल्याङ्कनमा मेधा मावि देशभरकै उत्कृष्ट सामुदायिक विद्यालय भएको हो।

विद्यालयलाई ४० औ शिक्षा दिवस तथा ५३ औँ अन्तराष्ट्रिय साक्षतरता दिवसको दिनमा पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले १० कक्षाको परीक्षाफल र ९ कक्षाको विद्यार्थी रजिष्ट्रेशनको आधारमा गरेको मूल्याङ्कनमा मेधाले ९० दशमलव १ नम्बर प्राप्त गर्दै गरेको हो।

त्यस्तै गुल्मीको रेसुङ्गा मावि दोस्रो र काठमाण्डौको बालाजुमा रहेको तरुण मावि तेस्रो भएको छ। संस्थागततर्फ भने काठमाण्डौको कपनमा रहेको रिलायन्स इण्टरनेशनल एकेडेमी पहिलो, काभ्रेको साँगामा रहेको नेपाल प्रहरी मावि दोस्रो र नयाँबानेश्वरको भ्याली भ्यू इङ्लिस स्कुल तेस्रो भएका छन्।