डेटा चोरीका कारण पटक–पटक आलोचना खेपिरहेको फेसबुकबाट फेरि डेटा चोरी भएको छ। पछिल्लो समय फेसबुकबाट ४१ करोड प्रयोगकर्ताको नम्बर लिक भएको समाचार सार्वजनिक भएको छ।

तीमध्ये अमेरिकाका १३ करोड, बेलायतका १ करोड ८० लाख र भियतनामका ५ करोड फेसबुक प्रयोगकर्ता रहेकाे टेकक्रन्चले जनाएकाे छ। सिक्योरिटी रिसर्चर संयम जैनका अनुसार ४१ करोड प्रयोगकर्ताको फोन नम्बरका साथै नाम, लिंग तथा देशको जानकारी पनि लिक भएको छ।

फेसबुकको लापर्वाहीका कारण यति ठूलो मात्रामा डेटा लिक भएको हो। सर्भरमा पासवर्ड नराखेका कारण जोसुकैले सूचनामा पहुँच प्राप्त गरेका हुन्। फेसबुकले भने यी डेटा पुराना भएको र पहिले नै कसैले ती डेटा लिएको स्पष्टीकरण दिएको छ।

यसभन्दा पहिले पनि फेसबुकबाट डेटा चोरी प्रकरण बाहिर आइसकेको छ। क्याम्ब्रिज एनालिटिकालाई करोडौँ प्रयोगकर्ताको जानकारी बेचेको आरोप फेसबुकलाई लागिसकेको छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा ८ करोड फेसबुक प्रयोगकर्ताको डेटा चोरी भएको आरोप लागेको थियो।