मोरङ / स्वास्थ्य बीमा दर्ता कार्यक्रम मोरङमा पनि शुरू भएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बीमा कार्ड प्रदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा मन्त्री घिमिरेले कार्यक्रमबाट सर्वसाधारणहरु स्वास्थ्योपचारमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। मोरङमा १० लाख जनसंख्या रहेकोमा आउने आर्थिक वर्षसम्म ४ लाखको बीमा गरिने स्वास्थ्य बीमा बोर्डले अपेक्षा गरेको छ। पाँचजनाको परिवारले वार्षिक ३५ सय रुपैयाँ तिरेमा १ लाखसम्मको सेवा प्राप्त गर्न सक्ने कार्यक्रममा जानकारी दिइएको थियो।

यस्तै ७० भन्दा माथिका नागरिक, कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआईभी संक्रमितको परिवार र पूर्ण अपांगता भएकाको परिवारले निःशुल्क स्वास्थ्यबीमाबाट १ लाखसम्मको उपचार पाउने बताइएको छ।

स्वास्थ्य बीमा सञ्चालनका लागि १५९ जनालाई तीन दिने दर्ता सहयोगी तालीम प्रदान गरिएको स्वास्थ्य बीमा प्रदेश सहसंयोजक दुर्गा आचार्यले जानकारी दिनुभयो।