इटहरी / नेपाली चेली छिमेकी मुलुक चीनमा ‘दुलही’ का नाममा १० लाख रुपैँयासम्म बिक्री हुने गरेको पाइएको छ। दुलही बनाएर युवती ओसारपसार गर्न सुरक्षित र सजिलो हुने भएकाले मानव तस्करहरूले यस्तो नयाँ शैली अपनाएका हुन्।

नेपाल प्रहरीको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ब्युरोले ‘दुलही’ बनाएर चीन लगिएका अधिकांश युवतीलाई देह व्यापारमा लगाउने गरेको दाबी गरेको छ। सो अपराधमा संलग्न रहेको अभियोगमा छ जना नेपाली र चारजना चिनियाँ नागरिक गरी १० जना पक्राउ परेका छन्।

ब्युरो प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले विवाहको प्रलोभन देखाइ मानव तस्करी हुने गरेको विशेष सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारी नेपाल–चीन मानव तस्करीको एउटा सञ्जाल पक्राउ गरिएको बताउनुभयो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक हेलम्बुकी विविरानी भन्ने रिना तामाङ, नुवाकोट ककनीका रोज तामाङ, लमजुङ बेँसीसहरकी पार्वती गुरुङ, लमजुङकै अमृता गुरुङ, भरत तामाङ र उषाकुमारी घिमिरे छन्।

त्यस्तै, चिनियाँ नागरिक झिङ साङ दोङ, झाङ दोङ हुँ, क्वुङ झाङ पेङ र क्विन लियाङ रहेका छन्। चीनको हुवीका स्थायी बासिन्दा झिङ र झाङ काठमाण्डौमा नै बसेर चीनबाट विवाह गर्न युवा बोलाउने दलाल रहेको जानकारी ब्युरो प्रहरीले दिएको छ । अभियुक्त क्युङ र क्विन विवाह गर्न भनेर केही दिनअघि नेपाल आएका हुन्।

नेपाली महिला रिना भाषा अनुवादक तथा दलाल, रोज कागजपत्र बनाउन सहयोगी, पार्वती, अमृता, भरत र उषा ग्रामीण क्षेत्रबाट युवती फकाइफुलाई काठमाण्डौसम्म ल्याउने कार्यमा संलग्न रहेको जानकारी ब्युरो प्रहरीले दिएको छ।

सो समूहको कब्जामा रहेका चार जना पीडित युवतीको उद्धार गरिएको छ। ब्युरो प्रवक्ता थपलियाका अनुसार विवाह गराइदिएबापत चिनियाँले प्रतिव्यक्ति १० लाख रुपियाँ दिने जनाइएको छ। पक्राउ अभियुक्तहरूको साथबाट २१ लाख ९७ हजार रुपैँया, ३८ हजार भारु, तीन हजार ३०० युआन, २०० अमेरिकी डलर बरामद भएको छ। दुलही बनाएर गरिने अन्तर्राष्ट्रिय मानव तस्करीको यो नयाँ शैलीलाई ‘व्रिड्स वाइङ’ भन्ने गरिन्छ। यो खबर आजको गोरखापत्रबाट लिइएको हो।