ओखलढुंगा / प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुईजनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ। सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका वडा नम्बर ६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको हो।

नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

त्यस्तै सुनकोशी गाउँपालिका–७, का वडा सचिवसमेत रहेका ४५ वर्षीय चेतबहादुर कट्वाल विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। भदौ १ गते २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरीको भनाई छ। पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जनाइएको छ।