बाँके / बाँकेको कोहलपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोविन्द दमाईलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरले बालिका बलात्कारको आरोपमा फरार रहेका कोहलपुर नगरपालिका ११, शान्तिनगरका ३८ वर्षीय दमाईलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पीडित पक्षले गत असार २६ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि दमाई फरार रहेका थिए।प्रहरीले करिब डेढ महिनापछि दमाईलाई बुधबार बाँकेको बैजनाथ गाउँपालिका१, चिसापानी गाभरबाट पक्राउ गरेको हो।

गाउँकै बालिकालाई बलात्कार गरेको आरोपपछि फरार रहेका दमाईले आफन्तको सहयोग लिएर पीडित पक्षलाई आर्थिक प्रलोभन पारी मुद्धा मिलाउने प्रयास गर्दै आएका थिए। प्रहरीले बलात्कार जस्तो जघन्य मुद्धा मिलाउन भूमिका खेल्ने ८ जनालाई पनि पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा अधिकांश दमाईका आफन्त र नातागोता रहेका छन्। पक्राउ परेका दमाई यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ।