एजेन्सी / पाकिस्तानमा एक निजी समारोहमा गीत गाउन गएको भन्दै भारतीय गायक मीका सिंहलाई बलिउडमा प्रतिबन्ध लगाएको थियो। अल इण्डिया सिने वर्कर एसोसिएसन र फेडरेसन अफ वेस्टर्न इण्डिया सिने इम्प्लोइज मिलेर मीका सिंहविरुद्ध यस्तो निर्णय लिइएको थियो।

मीका सिंहले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफका आफन्तको विवाहको पार्टीमा गीत गाएर भारतीय जनताको भावनामाथि ठेस पुर्‍याएको आरोप लगाइएको छ। भारतको संगीत तथा सिने जगतमा प्रतिबन्ध भएपछि मिका सिंहले सार्वजनिक रुपमै माफी पनि मागे तर उनीमाथिको प्रतिबन्ध भने फिर्ता गरिएको छैन। त्यस्तै मीकासँग अन्य कुनै कलाकारले काम गरेको खण्डमा उनीहरुमाथि पनि प्रतिबन्ध लगाइने बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोहेल खानको इभेन्ट कम्पनी र जोर्डी पटेल नामका व्यक्तिको कम्पनी मिलेर ‘अप, क्लोज एण्ड पर्सनल विद् सलमान खान’ नामको टुर आयोजना हुन लागेको छ। सलमान खानले त्यस टुर अन्तर्गत अमेरिकाका विभिन्न शहरमा प्रस्तुति दिनेछन्। साथै सलमानले आउँदो हप्ता मीका सिंहसँगै प्रस्तुति दिनेछन्।

mika_singh_1566288455_618x347 मीका सिंह त्यही टुर अन्तर्गत आउँदो अगष्ट २८ मा हस्टनको कार्यक्रममा सहभागी हुन लागेका हुन्। तर त्यो टुरका आयोजकले भने खबरको खण्डन गर्दै मीका सिंहलाई अमेरिकाको स्थानीय प्रचारकले आमन्त्रित गरेको बताएका छन्। तसर्थ सलमान खान र मीका सिंहले एकैसाथ स्टेज शेयर नगर्ने बताइएको छ।

तर इण्डिया सिने वर्कर एसोसिएसनले मीका सिंहका साथ बलिउडमा यदी कसैले काम गरेको पाइएमा त्यसमाथि पनि प्रतिबन्ध लगाइने बताएको छ। यदी सलमान खानले पनि मीकाका साथ काम गरेमा उनीमाथि पनि प्रतिबन्ध लगाइने एसोसियसनले बताएको छ। मीका सिंहका साथ काम गर्ने वा नगर्ने भन्ने विषयमा सलमान खानको तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन।