एजेन्सी / दाँत स्वास्थ्य र सौन्दर्य दुबैको लागि अति महत्वपूर्ण अंग हो। यसलाई स्वस्थ, सफा र सुन्दर राख्ने सबैको चाहाना हुन्छ। नचाहाँदा नचाहाँदै पनि विविध कारणले दाँतमा समस्या आउँछ। अधिकांशमा दाँतमा आउने समस्या मध्ये एक हो किरा लाग्ने र दुख्ने। दाँतमा किरा लाग्ने र दुख्ने किन हुन्छ ? यस्तो समस्याबाट छुटकारा पाउन के गर्ने ?

दाँतमा लाग्ने रोगलाई हामी सामान्य रुपमा लिन्छौ। दाँत सुन्दरताको लागि मात्र हो भन्ने धेरैको सोचाई छ। तर बेलैमा उपचार नगरे दाँतमा लाग्ने रोगले क्यान्सरसम्म हुने गर्दछ। दाँत तीन तहले बनेको हुन्छ। चिकित्साशास्त्रमा पहिलो बाहिर देखिने सेतो भाग, जसलाई इनामेल भनिन्छ। इनामेल भन्दा भित्रको भाग डेन्टिन र डेन्टिन भन्दा भित्रको भाग जसलाई पल्प भनिन्छ।

पल्प दाँतको सबै भन्दा कमजोर र संवेदनशील भाग हो जहाँ रक्तसंञ्चार हुन्छ। मुख भित्र विभिन्न किसिमका व्याक्टेरिया हुन्छन्। हामीले खाएको खाना दाँतमा बसिरहँदा त्यस्ता व्याक्टेरियाले एसिड उत्पन्न गर्छ र यसले बिस्तारै किरा लाग्न सुरु हुन्छ।

दाँतमा किरा लाग्ने धेरै कारणहरु छन्। जस मध्य दाँतलाई फोहोर राख्नु वा खाना खाए पछि ब्रस नगर्नु। जिब्रो तथा मुख राम्ररी सफा नगर्नु। वंशाणुगत गुण आदिले किरा लाग्छ। दाँत सिरिङ्ग हुने। खाएको कुरा दाँतमा अडकने। दाँत दुख्ने। दाँतमा इनामेलको भाग हराएर कालो देखिने। चपाउन गाह्रो हुने लक्षण देखिएमा दाँतमा किरा लागेको हुनसक्छ।

दाँतमा किरा लाग्न नदिन दाँत सफा राख्नु पर्छ। बच्चा उमेर देखि नै ब्रस गर्न सिकाउने। सानो बच्चालाई आमाको दुध वा केही पनि चिज खाएपछि सफा नरम कपडाले गिजा, दाँत सफा गरिदिने। कम्तीमा ६ महिनामा एक पटक दन्त चिकित्सककोमा दाँतको परीक्षण गराउँदा यस्तो समस्याबाट बच्न सकिन्छ।

किराले खाएपछि दाँत दुखाई पनि हुन्छ। दुखाई कम गर्न धेरैले खैनी, ल्वांको तेल लगाएतका कुरा हाल्ने गर्छन्। यसले क्षणिक रुपमा समस्या समाधान भएको अनुभूति भएपनि दिर्घकालिन रुपमा भने समाधान हुँदैन।

त्यसैले दिर्घकालिन समाधानको बाटो खोज्नुपर्दछ। किराले खाएको दाँतको प्रकृति अनुसार दाँत भर्नेदेखि निकाल्नेसम्मको उपचार गर्नुपर्ने हुन्छ। यसको बेलैमा उपचार नगरे गिजा तथा मुखको क्यान्सर समेत हुनसक्छ। यस कारण समय, खर्च र दुखाई कम गर्नका लागि पनि एक त किरा लाग्न नदिन सजक बन्नुपर्दछ र जतिसक्दो छिटो विशेषज्ञको सुझाव बमोजिम उपचार गराउनु उत्तम हुन्छ।