बागलुङ / जिल्ला प्रहरी कार्यालय बागलुङले ढोरपाटन नगरपालिका वडा नम्बर–८, बोबाङमा एक दम्पतीको हत्या आरोपी स्थानीय ६१ वर्षीय मसाने कामीलाई पनि सार्वजनिक गरेको छ।

उनले यही साउन २५ गते राति आफ्नै घरमा बसेका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बिमा कामीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। कामी मृतक भानबहादुरका आफ्नै भाइ हुन्।

मसानेको छोरा र भानबहादुरको बुहारीबीच अवैध सम्बन्धलाई लिएर उनीहरुबीच भएको भनाभनले उग्ररुप लिँदा मसानेले आवेगमा आएर दाइ–भाउजुको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ।

अवैध सम्बन्धकाबारे गाउँलेलाईसमेत थाहा भएपछि विवाद चर्किएको थियो।

यसैगरी १५ वर्षकी बालिकालाई लामो समयदेखि प्रलोभनमा पारी यौन सम्पर्क गरेको आरोपमा पतिमान सार्की पक्राउ परेका छन्।

बागलुङ नगरपालिका–७ की १५ वर्षीया बालिकालाई लामो समयदेखि प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने ५४ वर्षीय सार्की पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङले उनलाई पक्राउपछि सार्वजनिक गरेको हो।