एजेन्सी / ज्याकलिन फर्नान्डिस बलिउडमा चर्चित नाम हो। उनी २००९ मा अलादीन फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन्। सो फिल्ममा उनले अमिताभ बच्चन र रितेश देशमुखसँग स्क्रिन शेयर गरेकी थिइन्।

ज्याकलिन फर्नान्डिसको जन्म ११ अगस्ट १९८५ मा बहराइनमा भएको थियो। ज्याकलिनका पूर्वज क्यानडा, मलेशिया र श्रींलकासँग जोडिएका छन्।

शुरुवाती करिअरको कुरा गर्नुपर्दा मास कम्युनिकेशनमा ग्रयाजुएशन गरेपछि ज्याकलिनले श्रींलकामा टिभी रिपोर्टरको काम गरेकी थिइन्। उनले रिपोर्टिङ गर्दैगर्दा मोडलिङ इन्डस्ट्रि पनि जोइन गरिन्। त्यसबेला उनी र्याम्प वाकमा सहभागी हुने गर्थिन्।

ज्याकलिनले २००६ मा मिस श्रींलका यूनिभर्सको ताज जित्न सफल भएकी थिइन्। साथै मिस यूनिभर्स प्रतियोगितामा श्रींलकाबाट प्रतिनिधित्व गरेकी थिइन्। ज्याकलिन २००९ मा मोडलिङको लागि भारत आएकी थिइन्। त्यसक्रममा उनलाई अलादीन फिल्मको लागि प्रस्ताव आयो।

सुरुमा हिन्दी भाषा बोल्न उनलाई गाह्रो हुन्थ्यो तर उनले पछि हिन्दी भाषा सिकेकी थिइन्। भाषाको कुरा गर्नुपर्दा उनी इंग्लिस, स्पेनिश, फ्रेन्च र अरबी भाषा बोल्न सक्छिन्। ज्याकलिनले मर्डर २, हाउसफुल २, हाउसफुर ३, रेस २, जुडवा २, बागी २, रेस ३ र किक जस्ता फिल्ममा काम गरेकी छिन्।

ज्याकलिनको आउन लागेको फिल्म ड्राइभ हो। सो फिल्म यही बर्ष (२०१९) मा रिलिज हुने बताइएको छ।