भँसीपालक कृषकलाई प्रोत्साहन गर्ने उदेश्यले सुनसरीको इटहरीमा भएको भैँसी सुन्दरी प्रतियोगितामा हिरा नाम गरेको भैसीले ३५वटा भैँसीलाई पछि पार्दै सुन्दरीको उपाधि प्राप्त गरेको छ। बातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले इटहरी २ हवाइचोकमा प्रतियोगिता गरेको हो।

शनिवार भएका प्रतियोगितामा मिठुमाया कार्कीले पाल्नुभएको हिरा भैँसीले उपाधि सँगै नगद ११ हजार रुपैँया पनि प्राप्त गरेको छ। प्रतियोगितामा नरबहादुर कार्कीकोे चम्पा भैसीले दोस्रो उपाधी सहित ९ हजार तथा बेधनिधी दाहालको काली भैसीले तेश्रो हुँदै नगद ५ हजार रुपैँया पुरस्कार पाएका छन्।

अर्का किसान हरिप्रसाद नेपालको काली भैँसीले चौथो हुँदै ३५ सय रुपैँया तथा नारायणबहादुर बुढाथोकीको काली नामकै भैँसीले पाँचौ हुँदै २५ सय रुपैँया नगद पुरस्कार प्राप्त गरेका छन।

प्रतियोगितामा बिजयी सबै भैसीलाई आयोजकले नै ८० हजार रुपैँया बरावरको बीमा उपलब्ध गराएको छ। प्रतियोगितालाई राष्ट्रिय भैसी अनुसन्धान केन्द्रका भैसी बैज्ञानिक पवनकुमार झा, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा.शिवनाथ महतो डा.विष्णुप्रसाद कुसवाहा र प्राविधिक राजेश पौडेलको निर्णायक टोलीले भैसी जाँच गरी सुन्दरी प्रतियोगितामा ल्याईएका भैसी मध्ये उत्कृष्ट छनौट गरेको आयोजक टंक दाहालले बताउनुभयो।

पछिल्लो समयमा कृषि प्रधान देशमा कृषकहरुले भौसीपालनमा कम चासो देखाइरहेकाले उनीहरुलाई उत्साहित गर्ने उदेश्यले भैसी सुन्दरी प्रतियोगिता गरिएको दाहालको भनाई छ।

कार्यक्रममा कृषकहरुलाई आवश्यक पर्ने ढिकी, जाँतो, ओख्ली मूस्ली, गुन्द्री बुन्ने तान, पिरा, मान्द्रो, पेरुङ्गो, महला, हलोलगायतका लोप हँुदै गएका कृषि सामाग्रीहरु समेत प्रदर्शनीमा राखिएको थियो।