काठमाण्डौ / बाल साहित्यकार शाश्वत घिमिरेको उपन्यास ‘होस्टल’ विमोचन गरिएको छ। सानै उमेरदेखि नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा लाग्नुभएका १७ वर्षीय घिमिरेको सो उपन्यास बुधबार साँझ विमोचन गरिएको हो।

रुद्र तुल चन्द्र प्रतिष्ठानले प्रकाशन गरेको सो पुस्तकको विमोचन नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गर्नुभयो। कार्यक्रममा नेता आचार्यले कक्षा ९ मा अध्ययनरत घिमिरेको उपन्यासमा कल्पनाशीलता भेटिएको बताउनुभयो। “सानै उमेरमा यस्तो कल्पना गरेर उपन्यास लेख्नु बाल साहित्यकार घिमिरेको विशेषता हो”,उहाँले भन्नुभयो। घिमिरेको उपन्यासले नेपाली साहित्य जगत्मा नयाँ आयाम थपेको उहाँको भनाइ थियो।

बाल्मिकी क्याम्पसका प्रमुख प्रा डा गणेशप्रसाद घिमिरेले लेखकले आफ्नो पठनपाठनका लागि होस्टल जाने मनस्थितिलाई समावेश गरेर लेखिएको उपन्यासलाई कलात्मकरूपमा प्रस्तुत गरेको बताउनुभयो। स्कूलमा पढ्दापढ्दै कविता, उपन्यासलगायतको साहित्य सिर्जना गर्नु ठूलो कुरा भएको उहाँको भनाइ थियो।

बाल साहित्यकार घिमिरेले आफूले होस्टल पढ्न आउँदा गरेका संघर्षलाई पुस्तकमा उतारेर उपन्यास बनाएको बताउनुभयो। उपन्यास १७ शीर्षकमा लेखिएको छ। कार्यक्रममा सत्य साई शिक्षा सदन टोखाका प्राचार्य प्रा डा नरोत्तम उपाध्यायलाई दोसल्ला ओठाएर सम्मान गरिएको थियो।