मलाई याद छ बुबा,

म सानो छ'दा, तपाई खाडी तर्फ लम्कन लाग्दा,

मेरो सातो नजाओस भनेर, मेरो हातमा 'फु....'गरेर फुक्नु भएको ॥

म सम्झन्छु बुबा, तपाईका ती चिल्ला हातले,

मलाई उचालेर, मामा घर देखाउनु भा'को ॥

म सम्झन्छु, तपाईंका ती दुई गोडाहरु,

जहाँ म कयौं पटक, घुघुती खेल्दा निदाएको ॥

बुबा, मलाई डाहा लाग्छ आज,

तपाईंले मलाई खेलाउने शरीरको "अंश",

म नै , तपाईको "वंश" लाई जोगाउन,

खाडिमा गाड्नु परेको देख्दा ॥

तपाईलाई थाहा छ बुवा,
तपाईंको पसिनाको तागत?
ती काला बादलका टुक्राहरु आपसमा जोहोरी खेल्दा,
निस्किएको त्यो चट्याङको झिल्काले,
हाम्रो अर्थिङको सर्किट पूरा नभएको घरमा बजारिदा,
तपाईंले खाडी देशको खाडीमा,
हाडिको पिध जस्तै कालो हुँदै,
तपाईंको आधा भासिएको शरीरबाट ,
बगेको पसिना धर्तीमा चुहिदा, हो!
त्यही बेला हो बुवा,
तपाईंले त्यो आधा सर्किटलाई,
आफु आधा भासिएर पुण रुप दिनु भएको ॥
तपाईं भासिएको दशक बितिसक्दा,
अब म कल्पना गर्छु बुवा,
तपाईका चिल्ला हात फुस्रा भएको,
अनि तपाईंको गोडा मुनि म टुक्रुक्क बसेर,
फेरि मेरो उचाई, तपाईको काधलाई उछिन्दै,
तपाईंको निधार्को धर्सा बनेर, भाग्या बनेको ॥
 
किरण चौलागाईं ।